४ कार्तिक २०७७, मंगलवार

पर्सा प्रहरीको सफलता : गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद



१ कार्तिक, काठमाडौं । पर्षा जिल्लाको वीरगञ्जस्थित एक अपार्टमेन्टबाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमनगरमा अवस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको छ । ६८१ ग्राम तौलका थप सुनका गरगहना पनि बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिएकी छिन् । उनले भनिन्, सुनबाहेक २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरिएको छ ।’

गोप्य सूचनाका आधारमा प्रहरीले केहि दिनदेखि गणेश अपार्टमेन्टलाई कडा निगरानिमा राखेको थियो । सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहीँ ड्युटीमा खटिएको थियो । तर कोही पनि नआएपछि स्थानीयको रोहबरमा अपार्टमेन्टको ३०३ खोलेर खानतलासी गर्दा सुन चाँदी बरामद भएको पर्सा प्रहरी प्रमुख पन्तले बताइन् ।

उक्त फ्ल्याट अशोक सिन्हाको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अपार्टमेन्टको कोठामा त्यति धेरै सुन कसरी थुप्रियो भन्ने सन्दर्भमा थप अनुसन्धान अगाडि बढाइएको पन्तले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु