बालीनाली थन्क्याउन हल्जी गाउँको विद्यालय बन्द
समर हुम्ली
१ कार्तिक, काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६मा पर्ने हल्जी गाउँमा बालीनाली थन्क्याउन एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । यहाँ वर्षको एक बाली मात्र पाक्ने हुनाले बालिनाली थन्क्याउने कामलाई पनि महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।
करीब ४ हजार दुई मिटरको उचाइमा हुम्लाकै उच्च स्थानमा रहेको एक गाउँ हो हल्जी । स्थानीयस्तरमा बालीनाली स्याहार्ने कामलाई एक अति महत्वपूर्ण उत्सवमा रूपमा लिने गरिएको बताउदै हल्जी गाउँमा सामाजिक अगुवा खेन्राव तामाङ्गले भने, ‘जो जहाँ भए पनि सकभर बालीनाली स्याहार्ने समयमा अनिवार्य रूपमा आउनु पर्ने बाध्यात्मक चलन रहदै आएको छ ।’

रीतिथीति र चालचालन अनुसार गाउँका सभा अर्थात् लाइजेन चिटोतले निर्णय गरे अनुसार बालीनालीको हेरचाह गर्ने नोरा अर्थात् बालीचौकीदार, गाउँको थीतिबन्दका लागि व्यवस्था गर्ने जिम्मेवार व्यक्ति अर्थात् लाइवा र यस्तै अनेक कामका लागि जिम्मेवार दिइएका व्यक्तिहरूले निश्चित जिम्मेवारी दिइएको हुन्छ । उनिहरूले गाउँ सभाले तोकेको जिम्मेवारी पुरा गरेर बालीनाली थन्क्याएपछि बस्ने गाउँको कचहरीमा ६ महिनाको प्रगति विवरण र आफुले गरेका कामको जानकारी उक्त लाइजेन चिटोतमा बुझाउनु पर्ने चलन रहेको वडा अध्यक्ष पाल्जोर तामाङ्गले जानकारी दिए ।
त्यसैले प्रत्येक वर्ष बालीनाली स्याहार्ने बेलामा घर परिवारका सबै सदस्यहरू राती २ बजेदेखि बिहान १२ बजेसम्म खेतमा गएर काम गर्नु पर्ने र खानापानी पनि खेतमा लिएर खाने गरिन्छ । यो उत्सव सानानानीहरूका लागि एकातिर रमाइलो गर्ने र अर्कोतर्फ व्यावहारिक कुराहरू सिक्ने अवसर भएकाले पनि विद्यालय बन्द गरिएको हल्जी गाउँका छिरिङ्ग तुन्डुप तामाङ्गको भनाई छ ।
बालीनाली स्याहारी सकेपछि विद्यालय सञ्चालन हुने गरिने छ । यो विदाबाट बालबालिकाहरूले नयाँ किसिमको पूर्नताजगी अनुभव प्राप्त गर्ने अविभावकहरूको बुझाई रहेको छ ।