१५ आश्विन २०८०, सोमबार

कोरोनाबाट मृत्यु : स्वास्थ्य मन्त्रालय ७१५, नेपाली सेना ८८९ ?



१ कार्तिक, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको हालसम्मको संख्यामा नेपाल सरकार र नेपाली सेनाको तथ्याङ्क बाझिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणबाट शुक्रबारसम्म जम्मा ७१५ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ । तर कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले भने हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्याङ्क उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्याङ्कलाई हेर्दा १७४ जना मृतकको संख्या कम देखिएको छ ।

नेपाली सेनाको पृतनाहरूले हरेक शव व्यवस्थापनबारे विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् । त्यसअनुसार उपत्यका पृतनाले हालसम्म ४४४, मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ ।

सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका ८८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई स्वास्थ्य तथा जनसंकख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन ।तर क्वारेन्टिनमा आत्महत्या गर्नेहरूको संख्या भने निकै कम छ ।

नेपाली सेनाले उपलब्ध गराएको संख्या भन्दा स्वास्थ्य मन्त्रालयको तथ्याङ्क किन यति कम भयो भन्ने सवालमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे आफुलाई थाहा नभएको बताए । उनले भने, ‘हरेक दिन मन्त्रालयको च्यानलबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा तथ्यांक आउछ । सोही तथ्याङ्कलाई हामीले सार्वजनिक गर्ने गरेकय छौं ।’

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेनाले आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेको स्पष्ट पारेका छन् । उनले मृतकको संख्या कसरी बाझियो भन्ने विषयबारे स्वास्थ्य मन्त्रालयसँगै बुझ्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको