लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पुगे पाँच सय दर्शनार्थी
समर हुम्ली
३० असोज, हुम्ला । निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरूञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५ हजार ३ सय रहेको छ ।
यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनार्थी र तिर्थयात्रीहरूका लागि पवित्र नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सयौं हुम्लीहरू लाप्चा पुगेका छन् ।
तिब्बतीय पठारको दक्षिण क्षेत्र नेपालको उत्तरी भेग हुम्ला लिमीको अति रमणीय ठाउँ लिमी लाप्चा जानका लागि हाल सिमकोटबाट नै जीपलाई रिजर्भ गरेर आवातजावत गर्न सकिन्छ । यसबाट एकातिर अति रमणीय स्थानहरू लाग्ना, ओग्यान, हेप्काखोला, लेखघिंगा, सेइच, लाङदुकलाग्ना, कुकीभ्याली, गाँडेभुज, नाफलथाङ, छुँउसा, सेलीमाच्छो, न्यालु, तलुङभ्याली, निङच्छो, टाक्ची, तुम्लीङ, पुल्गुङ, पेवाकार्बु, ग्याउखोला, च्याक्पालुङ हुँदै लाप्चा भञ्ज्याङ पुग्न सकिने उद्योग वाणिज्य संघ, हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी दिएका छन् ।

हुम्लाको उत्तरी भञ्ज्याङ्ग लिमीको लाप्चा क्षेत्र पछिल्लो समय चर्चा आकर्षणको केन्द्र बनेको छ । यो क्षेत्र केही समय चर्चा परिचर्चाबाट टाढा रहे पनि ऐतिहासिक कालखण्डको विभिन्न समयमा यसको प्रयोग र महत्व रहेको स्थानीयस्तरमा प्रचलनमा आएका लोककथन, पशुपालन व्यवसायको घुमन्ते परम्परा र ऐतिहासिक दस्तावेजहरूलाई प्रमाणका रुपमा लिनुपर्ने उत्तरी सीमा प्रशासनका विज्ञ डा. तुलसीनारायण श्रेष्ठको मत रहेको छ ।
यो खश साम्राज्यको एक प्रमुख आवतजावतको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रले खश साम्राज्यको अर्थतन्त्र बलियो बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसै क्षेत्रमा पर्ने मानसरोवर कैलास हिन्दु, बौद्ध, जैन र बोन धर्मको लागि पबित्रस्थल र मोक्ष प्राप्ति गर्ने ठाउँ पनि हो ।
लाप्चामा मानसरोवर कैलासको दर्शन गर्ने अलौकिक स्थान छ । जहाँबाट उत्तरी दिशामा सुशोभायमान बसेको विशाल हिमशैल आकारको कैलास पर्वत छ । दक्षिणी काखमा विश्व जलाशयको चार प्रमुख नदीहरू गंगा, ब्रह्मापुत्र, सतलज र सिन्धुको स्रोत मानसरोवर निलो रङमा आफुलाई अटल रुपमा समाधीस्थ छ ।

लाप्चामा मानसरोवर कैलासको दर्शन गर्ने अलौकिक स्थान छ । जहाँबाट उत्तरी दिशामा सुशोभायमान बसेको विशाल हिमशैल आकारको कैलास पर्वत छ । दक्षिणी काखमा विश्व जलाशयको चार प्रमुख नदीहरू गंगा, ब्रह्मापुत्र, सतलज र सिन्धुको स्रोत मानसरोवर निलो रङमा आफुलाई अटल रुपमा समाधीस्थ छ । ‘लाग्छ यो ठाउँमा बसेर शिवजीको उपासना गरू कि पार्वतीको साधना । जति हेरे पनि धित नमर्ने, जति आँखा तन्काए पनि धित नमर्ने । साँच्चै भोलेनाथ बाबाको लिला अगाडि कसको के लाग्छ र !’ मानसरोवर कैलास दर्शन गर्न जाने हुम्लीहरू भक्त रोकाया, जयचन्द्र रोकाया, नरजंग तामांग, विष्णु रावत, विष्णुबहादुर लामा, छक्कबहादुर लामा, नाम्ग्याल तामांग र आमहुम्लीहरूलाई यस्तै लाग्छ ।
यो वर्ष हिल्सा नाका बन्द हुँदा पुराङको ताक्लाखारबाट मानसरोवर कैलास जान नपाएका स्थानीयहरूले आफ्ना बाबुबाजेहरूले मानसरोवर कैलासको दर्शन र तत्सम्बन्धी तिर्थब्रत, पूजाआजा, अस्तु समाधी, ब्रतबन्ध र अन्य धार्मिक अनुष्ठान लिमीको लाप्चा दर्शनस्थलबाट गर्दा झनै पवित्र भएको पण्डित गोबिन्दप्रशाद उपाध्यायले बताए ।
उनका अनुसार भदौ महिनाको अन्तिम पूर्णिमामा सिमकोट गाउँपालिका वडा नम्बर ६ पाँबाडागाउँका एक दर्जनभन्दा धेरैले यही स्थानमा गएर ब्रतवन्ध गराएका हुन् ।
पहिला यो क्षेत्रमा जानका लागि एक हप्ताको कठिन यात्रा गर्नु पथ्र्यो । तर पछिल्लो समय मानसरोवर कैलास दर्शनका लागि सडक निर्माण गरिएकाले तीनदेखि पाँच दिने प्याकेजमा सदरमुकाम सिमकोटबाट आरामसाथ आउन जान सकिने हिल्सा टुर्स एण्ड ट्राभलका प्रोप्राइटर विष्णु रावतले बताए ।
कोरोना महामारीका बीच फुर्सदिला मानिसहरूलाई सरकारले हप्ताको दुई दिन विदा दिएकाले पनि यहाँ कार्यरत कर्मचारी, शिक्षक, ब्यापारी तथा अन्यका लागि असोज–कात्र्तिकको समय हिमाल हेर्न र मानसरोवर कैलासको दर्शन गर्न अति उपयुक्त र महत्वपूर्ण समय मानिएको छ ।
यो बेला न जाडो छ, न त गर्मी । आकास खुलेको छ चारैतिर हेर्न सकिन्छ । यो तिर्थमार्गमा नेपाल र विश्वमा लोपोन्मुख विभिन्न प्रकारका पुशुपन्छीहरू नावर, वन घोडा, वन कुकुर, ब्वाँसो, जलेवा र हिमचितुवा समेत आँखा अगाडि हेर्न सकिन्छ । त्यसैले मानसरोवर कैलास दर्शन गर्न लिमी लाप्चा एक पटक अवश्य पुग्ने गरौं ।
(लिमी क्षेत्रको स्थलगत अवलोककन पश्चात तयार पारिएको)