२२ जेष्ठ २०८०, सोमबार

निर्मलाले न्याय नपाएको भन्दै सुखडमा प्रदर्शन



लिलाजङ्ग शाही

३० असोज, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा रहेको रेडियो कैलालीमा कार्यरत पत्रकार निर्मला पहराईले न्याय नपाएको भन्दै परिवार प्रदर्शनमा उत्रिएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै पीडित पक्षले न्यायको लागि आन्दोलन गर्ने जनाएका छन् ।

पत्रकार सम्मेलन पश्चात् परिवारले पुर्व–पश्चिम राजमार्ग केही समयका लागि बन्द गर्नुको साथै सुखडमा प्रदर्शन गरेका छन् । सुखड चोकमा प्रदर्शनकारीहरूले टायर बाल्ने क्रममा प्रहरी प्रशासनले बल प्रयोग गरेर रोकेको थियो । निर्मलालाई न्याय दे, गलत पोष्ट मार्टम रिपोर्ट चाहिदैन, हत्यारालाई कारबाही गर, प्रहरी अनुसन्धान जारी राख जस्ता नाराबाजी गरेका थिए । पहराई मृत्यु प्रकरणका दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्ष गर्नु परेको परिवारले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिपोर्ट समेत गलत निकालिएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए । भाद्र ३१ गते सम्पर्क बिहिन भएकी निर्मला पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका ५ फूलबारी सामुदायिक वनमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

घटनामा संलग्न रहेको आशंकामा मृतकका परिवारको जाहेरीको आधारमा प्रहरीले स्थानीय ललित जाग्री र धना साउँदलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । तर बिहिबार पहराइको हत्या आरोपमा पक्राउ परेका स्थानिय ललित जाग्री एक लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत कैलालीमा थुनछेक बहसपछि हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमीका भनिएकी धना साउँदलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेशपछि जाग्री एक लाख धरौटी बुझाएर रिहा भएको र उनकी प्रेमिका भनिएकी धना साउँद भने धरौटी बुझाउन नसकेर कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । प्रेम सम्बन्धकै कारण जाग्रीले उनको हत्या गरेको भन्दै परिवारले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको