देशभर ४३९२ जनामा कोरोना पुष्टि, २१ को मृत्यु
३० असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
काठमाडौं उपत्यकामा आज (शुक्रबार) मात्रै २४ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ३ हजार ५ सय २२ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । मन्त्रालयका अनुसार देशभर विभिन्न अस्पताल र होम आइसोलेसनमा सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ३ सय ८२ छ ।
पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शुक्रबार देशका विभिन्न प्रयोगशालमा १६ हजार ५१३ जनाको पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।