महिलाको बहादुरी : बलात्कार गर्न आएका पुरूषको खुकुरी प्रहार गरी हत्या
३० असोज, धनकुटा । राति ढोका फोडेर बलात्कार प्रयास गर्ने एक पुरूषलाई धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ कि महिलाले हत्या गरेकी छिन् । मारेकटहरेको घुमाउने गाउँकी ३० वर्षीया कमला गुरूङ्गले स्थानीय लीलबहादुर गुरूङ्गको खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
राति सुतिरहेका बेला ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गर्दा लीलबहादुरको मृत्यु भएको महिलाले बताएकी छिन् । धनकुटा प्रहरी प्रमुख गोबिन्द अधिकारीले घटनाको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारका क्रममै हत्या पुष्टि भएको जानकारी दिए ।
कमलाका अनुसार घटना मंगलबार राति करिब १० बजेको हो । ‘लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे । जतिगर्दा पनि मैले ढोका नखोलेपछि बाहिरैबाट चुकुल उक्काई भित्र पसेर बलात्कार प्रयास गर्यो । अरू विकल्प केहि पनि नभेटेपछि खुकरीले हिर्काउदा उसको मृत्यु भएको हो ।’ कमलाई प्रहरीलाई बयान दिदै भनिन् ।
कमलाले टाउकोमा खुकुरी प्रहार गरेपछि अर्धचेतमै भागेका लीलबहादुर बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा मृतवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको छ ।
मृतक लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।