निषेधाज्ञामा बैंकका कर्मचारीलाई निर्वाध रूपमा आवतजावत गर्न दिइने
५ भाद्र, काठमाडौं । निषेधाज्ञा अवधीमा बैंकका कर्मचारीलाई निर्वाध रूपमा आवतजावत गर्न दिइने भएको छ । कर्मचारीलाई बैंंकको परिचय पत्रका आधारमा कार्यालय जान–आउन दिने भएको हो ।
बिहीबार बिहानै बैंकका कर्मचारीहरूलाई प्रहरीले राकेपछि बैंकहरू आक्रोशित बनेका थिए । कर्मचारीले दुःख दिइएको भन्दै नेपाल बैंकर्स संघले असन्तुष्टी जनाएपछि प्रहरीले परिचय देखाएपछि नरोक्ने बताएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरिक्षक सुशीलकुमार यादवले माथिबाटै बैंकका कर्मचरीलाई नरोक्ने आदेश आइसकेकाले निर्वाध रूपमा आवतजावत गर्न दिइने बताउनुभयो ।
बैंकका कर्मचारीलाई नरोक्ने भनेर पनि बिहिबार रोकिएकोले अहिले नै विश्वास गर्न सकिने अवस्था नभएको बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले माथिल्लो निकायबाट मौखिक रूपमा भनिएको सुचनालाई डिउटीमा रहेका प्रहरीलाई तुरुन्त कार्यान्वयन गर्न लगाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिउटीमा खटिने प्रहरीसम्म सूचना नै नपुग्दा समस्या भएको हो ।’