१६ श्रावण २०७८, शनिबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड, भौतिक आक्रमणको प्रयास



२९ असोज, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहमाथि भौतिक आक्रमणको प्रयास भएको छ । आफ्ना मागहरू रहेको भन्दै भेट्न आएका आपराधिक चरित्रका विद्यार्थीहरू तोडफोडमा उत्रिदा कार्यालयमा सामान्य क्षति पुगेको छ ।

अनिल शाही लगायतका १०–१२ जना विद्यार्थीहरूले आफुलाई कार्यालय बाहिर बोलाएको र आउन नमानेपछि तोडफोडमा उत्रिएको उपकुलपति नन्दबहादुर सिंहले बताए । सिंहले भने, ‘उनीहरूलाई १ बजे भेट्ने समय दिएको थिए । तर अनिल शाहीसहित १०–१२ जना विद्यार्थीहरू मेरो कार्यालयमा २ बजे आइपुगे । सबैजना कार्यालयमा छिर्न खोजेपछि मैले तीन जना मात्रै आउन आग्रह गरे । भित्र आएका तीन जनालाई मागहरू के छन् दिनुस् भन्दा अनिल शाहीले बाहिर हिड्नुुस बाहिरै बुझाउछौं माग भन्दै धम्किपूर्ण भाषा प्रयोग गरे ।’ आफु कार्यालय बाहिर जान नमाने पछि अनिल शाहीले अपशब्द प्रयोग गरेर कार्यालयको ढोका फुटाएको र केही गमलाहरू पनि तोडफोड गरेको उपकुलपति सिंहले बताए ।

उपकुलपति सिंहले शैक्षिक माफियाहरूले योजनाबद्ध तरिकाले आपराधिक चरित्रको व्यक्तिलाई प्रयोग गरेर घटना घटाउन खोजेको दाबी गरे । रारापाटीसँग कुरा गर्दै सिंहले भने, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालको केन्द्रीय व्यवस्थापन विभागमा अध्यापन गराउने तर बाहिर निजी कलेजहरू सञ्चालन गरेका कर्मचारीहरू भर्खरै कारवाहीमा परेका छन् । छात्रवृत्ति लगायतका विभिन्न प्रलोभन देखाएर विश्विद्यालयमा भर्ना भइसकेका विद्यार्थीलाई आफ्नो निजी कलेजमा तान्ने गरेको खुलेपछि कारवाहीको दायरामा ल्याएका हौं ।’ उनीहरूले नै आपराधिक मानसिकता बोकेका व्यक्तिहरूलाई प्रयोग गरेर मागहरू राख्ने बहानामा आक्रमण गर्नेगरी पठाएको सिंहले बताए ।

‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउने गरी विभिन्न कार्यक्रमहरू अगाडि बढाइसकेको छु ।’ सिंहले भने, ‘कसैसँग व्यक्तिगत सौदाबाजी नभएकाले यस्ता बाधा व्यावधानहरू पन्छ्याउदै विश्वविद्यालयले गुणस्तरीय शैक्षिक गतिविधि अघि बढाउँछ ।’

घटना लगत्तै उपकुलपति सचिवालय सदस्य उपेन्द्रबहादुर बि.क.ले जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय कार्यकारी परिषद्ले घटनाप्रति घोर भत्सना र आपराधिक गतिविधीमा संलग्नलाई हदैसम्मको कानुनी कारवाहीको लागि अपिल गरेको उल्लेख गरिएको छ ।

उपकुलपति कार्यालय तोडफोड र अभद्र व्यवहारमा प्रत्यक्ष संलग्न अनिल शाहीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु