१३ कार्तिक २०७७, बिहीबार

बेड नं. ३०४ बाट



छु म अहिले
कोबिड वार्डमा
बेड नं. ३०४ मा
गङ्गालाल हृदय केन्द्रमा
बिहानै आउँछिन् सफाइ गर्न प्रिय बहिनी
आधुनिक कूचो बोकेर
जिउ छोपेको पोसाकमा
अनुहार चिन्दिन म
मैले छरेका कति भाइरस
पुछपाछ पार्दै बढार्दै लान्छिन् उनी
मनमनै सलाम गर्छु म ।

फेरि आउँछिन् अर्की योद्धा
उस्तै सहयोगी भावना लिएर
लगाउँछिन् सुई नाडीमा समातेर
चलाउँछिन् झोल औषधी
पाइपबाट कुलो सोझ्याएर
खुवाउँछिन् गोली एक एक गरेर
म कति अनुगृहीत हुनु !
यस महामारीमा उनको त्याग र समर्पण देखेर
अन्तरात्माले शिर झुकाउँछु म ।

फेरि आउँछन् अर्का महायोद्धा
मै हुँ तपाईंको शत्रुसँग लाप्पा खेल्ने भन्दै
बुझ्छन् स्थिति दिन्छन् सल्लाह र आत्मविश्वास
मन उत्साहतिर उक्लिन्छ
नयाँ कोरामिन पाएर चिकित्सकको उपचार र बोलीको
अभिवादन छ महामारी विरुद्धका अग्रिम कमान्डर !
सलाम छ तिमीलाई हजार हजार ।

बिहानै चरा आएर बिउँझाउँछ
बाँसको झ्याङबाट
उठ अब धेरै सुत्ने होइन भन्छ
एकछिनपछि कलिलो घाम नै छिर्छ कोठामा
र मलाई हेरी हेरी मुस्कुराउँछ
म पनि हाँसि दिन्छु उसरी नै
जसरी आमा हाँस्छिन्
आफ्ना कलिला नानीको मुस्कानमा ।

ए लबस्तरा कोरोना !
भन् त तँ किन मेरा पछि लागिस् ?
यो ७० खाएको बुढो हो
मधुमेह र उच्च रक्तचापले चापेको छ
वेला यही हो भनी दाउ गरिस् कि ?
देखिनस् मेरो दलबल
अन्दाज गरिनस् मेरो तागत
तँ जाबालाई उडाउने कति जुक्ती आए
मेरा साथीसँगाती र शुभ चिन्तकका
देशका कुना कुनाबाट
विदेश र दूर देशका चप्पा चप्पाबाट
तँलाई घृणा मलाई माया
चेत् कोरोना चेत् ।

ए अब भन् त
तँ कसरी छिरिस् के मेरा शरीरमा ?
जान्न मन छ
मास्क लगाएकै थिएँ
साबुन पानीले हात धोएकै थिएँ
हिँड्दा दुई मिटरको दूरीमै थिएँ
योग व्यायाम
एक घण्टाको छानाको हिँडाइ
कौसीखेतीमा श्रमको पसिना
सबै चल्दै थिए
सुटुक्क कुन चोरदैलो उघारिस् तैँले ?

सायद अखबार पसल जान्छ भनेर
बाटो ढुकिस् कि ?
ल्याबमा रगत जँचाइ रहन्छ भनेर
कुरी बसिस् कि ?
घरको एक्लो छ फलफूल तरकारी किन्न
यतै आउँछ भनेर मौका छोपिस् कि?
या यसको प्राज्ञिक सल्लाह खोज्न आउनेका
पछि लाग्छु भनेर पछ्याइस् कि ?
कि यसकी श्रीमती बिरामी छन्
डाक्टरकहाँ धाउँदा त्यहीँ अँगालो मार्छु भनिस् ?
दागा त धर्नु धरिस्
गर्नु गरिस् ।

थाह छ मलाई तँ आउँदा
सुरुमा टाउको गह्रुङ्गो बनाइस्
अलि अलि खसखस चलाइस्
टेरिन मैले चलि रहेँ आफ्नै नियमित चाल
जिउ कटकटी खाइस्
सुतिदिएँ झन् सिरग च्यापेर
पसिना पो खलखली निकालिस्
लगाएका लुगा भिजाइस्
ओढेको सिरग भिजाइस्
गुर्जोका डाँठ च्याप्तै उमालेर सुर्क्याएँ
नरदेवीको काँडाको तातो तातो झोल तन्काएँ
बेसार अदुवा ज्वानो र जिराको पानी पनि जिउमा चढाएँ
टेरपुच्छर लाइनस् हगि ?

झन् पो मात्ती मात्ती सिँगौरी खेल्न थालिस्
सिटामोल १००० एमजी खाँदा पनि
१०२ माथि ज्वरो निकालिस्
खोकीको खसखसको मात्रा चढाइस्
सास फेर्न हम्मेहम्मे बनाइस्
केही पाइला हिँड्दै स्याँ स्याँ गराइस्
भर् याङ चढ्दा आच्छु आच्छु खेलाइस्
टाउको तताइस् भाउन्ने बनाइस्
कहिले काला सपना देखाइस्
कहिले भविष्यको हिसाब गराइस्
तर थाकिन म गलिन म ।

बरु कुदेँ म अस्पतालतिर
परेँ शरणमा अाधुनिक औषधि विज्ञानको
ज्ञान सिप भएका मनुष्यको
अब केही लाग्दैन तेरो लबस्तरा
कोरोना नकच्चरा !
कति पोल खोल्छु तेरो हेर्दै जा न
ध्वस्त नपारी छाड्दिन तेरा जरा जरा
छो मात्र मान्छेलाई
फुकेरै ढल्ने बनाइ दिन्छु पातकी मोरा !

यस्तै यस्तै कुरा खेलि रहेका वेला मनमा
उत्तरतिर आँखा तन्काउँछु
दरो तारे भिरले आँखा झिम्क्याउँछ
शिवपुरीको हरियालीले
पात हल्लाउँदै वायु डोलाउँछ
त्यहीँ माथि बादलले नाचेर मनोरञ्जन गराउँछ
गागल र कपनका बस्तीहरू साक्षी छन्
बिर्सेका छैनौँ तिमीलाई भन्छन्
सम्झिन्छु विगतका यस्तै दिनहरू
बस्ती र प्रकृतिले जोगाएका क्षणहरू
सङ्कटलाई कुल्चिँदै अगि बढेका पाइलाहरू
त्यसै त्यसै मन हौसिएर आउँछ
र भन्छ,
आच्छिउँ खाइस् बाच्छिउँ खाइस् झुसे बारुलो
कत्ति विचलित नहो
ढुक्क बन् कुलेलम ठोक्छ कोरोना
बनको बाघले नसकेकालाई
मनको बाघले केही लछार्दैन ।

(प्रा.डा. गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव तथा प्रगतिशील लेखक संघका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु