१३ कार्तिक २०७७, बिहीबार

सडक सञ्जालसँग जोडिँदै हुम्लाका स्थनीय तह



२८ असोज, हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको हो । मुगुसँगै जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो ।

कर्णाली करिडोर अन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली वडा नम्बर २, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट –४ र ५ मा आइतबार गाडी पुगेको हो । भौगोलिक रूपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

बाजुराबाट हुम्लाको ताँजाकोट वडा नम्बर ४ पुईमा खोला हुँदै वडा नम्बर ४ र ५ मा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमा उद्घाटन कार्यक्रम गरेरै गाडी प्रवेश गराइएको ताँजाकोट– ४ का प्रदिप बोगटीले बताए ।

काठमाडौं, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए । माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्को पालिकासमम यातायात सेवा सञ्चालन हुँदै आएको छ ।

यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीयवासी अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको ५० लाख बजेटबाट दुई वर्षमा सडक निर्माण गरिएको हो ।

हुम्लाका सात गाउँपालिकामामध्ये सर्केगाड र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिकामा यातायात सेवा पुगेको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु