२० जेष्ठ २०८०, शनिबार

भोजपुरका स्थानीय तह कोभिड अस्पताल निर्माणमा जुटे



२८ असोज, काठमाडौं । भोजपुरका सबै स्थानीय तहहरू कोभिड–१९ अस्थायी अस्पताल निर्माण कार्य जुटेका छन् । अस्पताल निर्माणका लागि स्थानीय तहहरूले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् ।

पौवादुङ गाउँपालिका वडा नम्बर ४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका वडा नम्बर ६ र हतुवागढी गाउँपालिका वडा नम्बर ४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थिलिएको छ ।

केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौँ, वडा नं ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ ।’

पौवादुङ गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरिसकेको जनाएको छ । वडा नम्बर ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा ल्याबसमेत सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढिसकेको छ, केन्द्रबाट १० लाख बजेट आएको छ, त्यसले ल्याब स्थापना गर्न रकम कम भएपछि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दशैँअघिसम्ममा सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’

निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहित पाँच शैया रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिए । त्यस्तै टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाले पनि कोरोना विशेष अस्पताल निर्माण प्रक्रियामा लागेको जनाएका छन् । अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि अस्पताल निर्माण कार्य अगाडी बडाइसकेका छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको