२० जेष्ठ २०८०, शनिबार

टर्नेभयो भोकमरी, कात्तिक भित्रै लिमीमा ३०० क्विन्टल चामल



समर हुम्ली

२७ असोज, हुम्ला । हिमालपारीको गाउँ हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको तीन गाउँमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड, हुम्लाले तत्काल तीन सय क्विन्टल चामल दिने भएको छ । सम्भावित भोकमरीबाट जोगिने भएपछि डेलिगेसनमा आएका लिमी गाउँका बासिन्दाहरू खुशी भएका छन् ।

कोरोना महामारीले उत्तरी नाका हिल्सा र लाप्चाबाट लिमी गाउँमा बन्दोबस्तीमा सामानहरू आपूर्ति गर्न गराउन समस्या भएपछि स्थानीयहरू चिन्तित बनेका थिए । हिउँदको ६ महिना अब के गर्ने भन्ने छटपटीमा थिए वडाध्यक्ष पाल्जोर लामा । उनले भने ‘अब हामीलाई सरकारले हेरेन भने भोकै मर्नु बाहेक अरू उपाय छैन भन्दै एक हप्तादेखि सिमकोटका सरोकारवाला निकाय र विभिन्न राजनीतिक दलहहरूसँग भेटघाटमा व्यस्त थिएँ । समस्या समाधान हुने भएपछि बल्ल चैनको स्वास फेर्न पाएको छु ।’

गत सालको मंसिर महिनादेखि बन्द भएको नाका ११ महिनासम्म पनि नखुल्दा सबै प्रकारका बन्दोबस्तीमा सामानका लागि पुराङसँग सम्पर्क गरेर केही दर्जन मालवाहक ट्क ल्याउने तयारी भएको थियो ।

नेपाल चीन उत्तरी सीमाका बारेमा विवाद चुलिएपछि सामान ल्याउन सम्भन नभएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । सिमा विवादको वास्तविकता केहो भन्ने सन्दर्भमा संघीय सांसद छक्कबहादुर लामासँगै स्थलगत अध्ययन गरेर काठमाडौंका सम्बन्धित तालुकवालाहरूसँग सल्लाह, परामर्श र जानकारी दिदैछौं ।

अध्यक्ष लामाले पहिलो चरणमा नाम्खा गाउँपालिकाका लागि तीनदेखि पाँच हजार क्विन्टल चामलको कोटा स्वीकृत हुने प्रक्रिया अघि बढेको र तत्काल लिमीको तीन गाउँका लागि ३ सय क्विन्टल चामल दिने परिपत्र जिल्लामा पठाई सकिएको बताए । उनले भने, ‘यो चामललाई सकभर गाडीबाट ल्याउने व्यवस्था गरिनेछ भएन भने हवाई ढुवानी समेत गर्ने तयारी भएकोे छ ।’

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला र त्यसमा लिमी गाउँको अवस्था अति संवेदनशील भएकाले जिल्लाको मौज्दात कोटाबाट तीन सय क्विन्टल चामल उपलब्ध गराउने व्यवस्था मिलाउने परिपत्र ल्याइएको सांसद छक्कबहादुर लामाले जानकारी दिए ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका शाखा प्रमुख रामबहादुर विष्टले लिमीका लागि चामल दिने तयारीमा भएपनि के, कसरी र कति मात्रामा दिने भन्ने कुरा तय भइसकेको अवस्थामा माथिको ग्रीन सिग्नलको प्रतिक्षामा रहेको बताए । उनले भने, ‘अब परिपत्र हुँदा तत्काल तीन सय क्वीन्टल चामल उपलब्ध गराउने छौं ।’

खाद्यान्न लगायत विभिन्न प्रकारका कामका लागि सिमकोट पुगेको लिमी तीन गाउँका बासिन्दाहरू खुशीले गदगद भएका छन् । अब ६ महिनाका लागि जीउने बाटो खुलेपछि वडा सदस्य मीगुर तामाङ्गले खुशी व्यक्त गरे ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले कात्र्तिक महिनाभित्र जे जसरी भएपनि लिमीमा चामल पुगाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘केही मात्रामा भएपनि राज्यले आफ्ना आवाज भित्रका समस्या सुनेको महसुस जनताले गर्नेछन् । अब हामी सकभर गाडीबाट नभए हवाई मार्गबाट भए पनि तत्काल चामल पठाउने व्यवस्था गर्र्दैछौं ।’

आफ्नो गाउँमा चामलको जोहो गर्न सिमकोट पुगेका लिमीका वडा अध्यक्ष पाल्जोर लामा लगायतको समूहले जिल्लाका सञ्चारकर्मी, राजनीतिक दलहरू, नागरिक समाज, सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीहरू र जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।

अब कार्तिक महिनाभित्रै तीन सय क्वीन्टिल चामल लिमी पुग्ने भएको छ । भोकमरी व्यहोर्नु पर्ने स्थितिमा पुगिसकेका लामि बासीको समस्या तत्कालका लागि समाधान त भएको छ । तर एक छाकको जोहो गर्न गाउँबाट ३–४ दिनको बाटो हिड्दै सदरमुकाम पुगेर डेलिगेशन दिनुपर्ने अवस्थाको भने अन्त्य हुनुपर्छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको