ओली र प्रचण्डले कर्णालीका नेतालाई काठमाडौं बोलाए, नतिजा के आउला ?
२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएपछि राजनीतिक माहोल एकाएक तातिएको छ । राजनीतिक चालबाजी उत्कर्षमा पुगिसकेको अवस्थामा सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका नेताहरूलाई काठमाडौं आउन निर्देशन दिएका छन् ।
मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफलमार्फत् समस्याको समाधान निकाल्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
अविश्वास पत्र दर्ता गर्ने नेतृत्व गरेका सांसद यमलाल कँडेलले आफुले दिउँसो ४ बजेतिर पत्र पाएको बताएका छन् । कँडेलले भने, ‘पत्रमा अहिलेको अवस्थालाई यथास्थितिमा राखेर छलफलका लागि मुख्यमन्त्री र मसहित अन्य नेताहरूलाई असोज २९ भित्र काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आउनु भनिएको छ ।’
संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।
पत्र आइसकेकोले सबै नेताहरू काठमाडौं जाने तयारीमा जुटेको निवर्तमान प्रमुख सचेतक शाहले बताए ।
यसअघि आइतबार कँडेल नेतृत्वमा १८ जना सांसदले सरकार सञ्चालन र पार्टीका काम कारबाहीहरू प्रभावकारी नभएको भन्दै संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर फिर्ता लिन भनेपछि मंगलबार सहमति भएको हो ।
अब काठमाडौंमा हुने बैचारिक छलफलले कस्तो सन्देशसहितको नतिजा सार्वजनिक गर्ला ? त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।