१५ फाल्गुन २०७७, शनिबार

नयाँ प्रयोगसहित कवि प्रेक्षितका हाइकुहरू



५ भाद्र, काठमाडौं । साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ द्वारा लिखित हाइकु सङ्ग्रह ‘आरम्भ’ उहाँका अन्य कृतिसँगै बजारमा आएको छ ।

कोरोना कहरका बीचमा उहाँले आफ्ना अप्रकाशित कृतिहरूलाई अन्तिम रूप दिई प्रकाशनमा ल्याउनु भएको छ । मकालु प्रकाशन गृहले प्रकाशित गरेको यो सङ्ग्रहमा नेपाली समाज, राष्ट्रियता, प्रकृति, मानिसका विचार, दर्शन, भावना र विश्व परिवेशलाई समेत हाइकु कविताका रूपमा प्रस्तुत गरिएको छ ।

नेपाली साहित्यमा समालोचक डा. मधुसूदन गिरीले कवि ‘प्रेक्षित’ का हाइकु माथि आफ्नो भूमिका लेखन गर्नु भएको छ । भूमिकामा भनिएको छ ‘नेपाली समाज, देश र विश्वका अनेकन पक्षलाई उत्खनन् गरी आजको युगको जीवन र यससँग सम्बन्धित उज्याला अध्ँयारा अनेक पाटाहरू समेटिएको छ ।’

जापानी शैलीका हाइकु लेखन नेपाली कविता विधामा एक नयाँ प्रयोग पनि हो । पुस्तकको भूमिकामा डा. गिरीद्वारा नेपालमा हाइकु लेखन र यसको परिवेशबारे पनि उल्लेख गरिएको छ । हाइकु २०१९ सालमै शङ्कर लामिछानेले रूपरेखामा आफ्ना हाइकु भित्र्याएको पाइन्छ । ‘प्रथम, दोश्रो र तेश्रो ५, ७ र ५ अक्षरमा लेखिने ध्वनी झ्वकयुक्त छोटो प्रकृतिको कविता नै हाइकु हो ।’

हाइकुमा थोरै शब्दमा तिखो र गहिरो गरी विषयबस्तुलाई पस्किन सकिन्छ । जापानका चर्चित हाइकुहरूलाई स्वर्गीय कवि क्षेत्रप्रताप अधिकारीले जापानी नवरत्न नामक हाइकु सङ्ग्रहको रूपमा अनुवाद गरेको पाइन्छ । त्यस्तै उहाँको हाइकु र हाइजिन नामक अर्काे अनुसन्धानात्मक कृति पनि छापिएको छ ।

डा. गिरीले कवि प्रेक्षित बाहिरबाट हेर्दा स्वप्नभग्न नभएका एक उत्साही, साहसी र आशावादी व्यक्तिका रूपमा चिनिने स्रष्टा रहेको जिकिर गर्नु भएको छ । उहाँका अनुसार यी हाइकुहरूमा जीवन अर्थात् व्यक्तिको व्यष्टि रूप छ, समाज छ, राष्ट्र छ , त्यसको सुन्दरता छ, कुरूपता छ, राष्ट्रिय/देशीय प्रकृति छ । यिनसँग सम्बन्धित अनेक पक्ष र पाटाका बिम्बहरू छन् ।’

उक्त सङ्ग्रहमा समसामयिक राजनीतिक र समाजका विकृत पक्षहरूलाई व्यङग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । कविले शिक्षा क्षेत्र, शिक्षकको नियत् र स्वछन्द विद्यार्थीका विविध पाटाहरू चिरफार गर्नु भएको छ । महिलामाथि हुने लैंगिक विभेद र हिंसाका पाटाहरू समेत हाइकुमा समेटिएका छन् ।

जस्तो कि,

चेला पढ्दैनन्
गुरु पढाउदैनन्
आजको शिक्षा ।

कवि प्रक्षित हाइकुमा प्रकृति, जीवन र दर्शनको पाटो यसरी केलाउनुहुन्छ :

नदीका तीर
अतृप्त माझीहरू
डुङ्गा जीवन ।

थप अर्काे हाइकुले भन्छः

रोचक नृत्य
संसार नाट्यशाला
लिलिपुट मानिस

यी हाइकुहरूमा जातीय विभेद, भ्रष्टाचार र सामाजिक विकृतिहरूलाई औंल्याइएको छ । बेरोजगारी युवा विदेशिनु परेका व्यथा हाइकुमा उजागर भएका छन् । जस्तो,

धुसको जुस
मर्छु भन्छ नपाए
ऊ कर्मचारी ।

हाइकुमा राष्ट्रियताको भावना पनि छचल्किएको छ । देशको सिमा रक्षाको भावना हाइकुमा यसरी उल्लेख गरिएको छ,

सगरमाथा
शीरमा उचालेर
म सीमा कोर्छु ।

कवि ‘प्रेक्षित’ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख रहनु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिस्ट्रार रहिसक्नुभएका प्राध्यापक कवि प्रेक्षितले प्राचीन न्यायवैशेषिक दर्शनशास्त्रमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट आचार्य (विश्वविद्यालय प्रथम) र त्रि.वि.बाट नेपालीमा एमए उपाधी ग्रहण गर्नु भएको छ । न्यायदर्शन सम्मत शब्दबोध प्रक्रियाको भाषा वैज्ञानिक परिशीलन’ विषयमा विद्यावारिधि पनि गरिरहनु भएको छ । उहाँ भैरवी गाउँपालिका–३, लम्जी दैलेखमा जन्मिनु भएको हो ।

कवि पे्रक्षितका थुप्रै कविता सङ्ग्रह, समालोचना, साहित्यिक तथा अनुसन्धानात्मक कृतिहरू प्रकाशित भइसकेका छन् । जसमा कविता तर्फ ‘आकुञ्चन’ (सङ्युक्त कविता सङ्ग्रह, २०५०), ‘ज्वाला’ (खण्डकाव्य, २०५४), ‘कमिलाको एकता’ (बालकविता सङ्ग्रह, २०५९), ‘समयका छालहरू’ (कविता सङ्ग्रह, २०६०), ‘हिमाल हेर्न जाऔँ’ (बालकविता सङ्ग्रह, २०६५), ‘सेता हाँस र मुसाहरू’ (सचित्र बालकथा, २०६६), ‘म, माटोे र मुटु’ (कविता सङ्ग्रह, २०७५), ‘आरम्भ’ (हाइकु सङ्ग्रह, २०७५), समालोचनातर्फ केही कृति, केही प्रवृत्ति–२०७५, केही आलोचनात्मक भूमिका–२०७५, साहित्यकार श्यामप्रसादः संक्षिप्त परिचय (जीवनी पुस्तिका–२०७३), साहित्यकार श्यामलको संक्षिप्त जीवनवृत्त (जीवनी पुस्तिका–२०७४), अनुसन्धानतर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका गौरवमय साठी वर्ष (अनुसन्धान–२०७४), दैलेख लम्जीको कश्यपगोत्रीय पाण्डेय वंश र ज्यो.पं. हरिप्रसाद उपाध्याय (अनुसन्धान–२०७५) तथा अनुवादतर्फ माक्र्सवादको मूलभूत सिद्धान्त— २०५९, माक्र्सवादको रूपरेखा—२०६४, तर्कामृतम् (विशेष टिप्पणी र व्याख्यासहित)–२०६७ प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु