२० जेष्ठ २०८०, शनिबार

कोराना क्राइसिस र मायाको इन्जेक्सन् भाग-३



(भाग १ र २ पढ्नुभएको छैन भने, अन्तिममा दिइएको लिङ्कमा गएर पढ्न सक्नुहुनेछ ।)

गन्धे गन्धन ४
म्यासेज खोल्नलाई औँलाले थोप्लाहरु जोडेर मोबाइल अनलक गर्न मात्र के लागेको थिएँ, एक्कासी साइरन बजाउँदै एउटा पुलिसको भ्यान हामी दुईको अघि आएर रोकिन्छ । अल्मलिन नपाउँदै मलाई झ्यापझुप समाउँछन् र लतारेर भ्यानमा चढाउँछन् । सरोज भने स्वभाविक तबरमा हाँस्दै भेनमा चढ्छ । उसको पारा र उप्रतिको पुलिसको व्यवहारले म आश्चर्यमा पर्न नपाउँदै उसले मेरो कानमा साउती मार्यो, “सरी गुरु । असल बाटोमा लाग्न हजुरले सिकाउनु भयो । उही बाटोमा हिडेर आफ्नो सोझो ड्युटि त मैले निभाउनै पर्यो नि ।”

एउटा कालो छायाले छोपिएको दुर्गन्धित खोरमा एक्लै धुम्धुम्ती बसिरहेको छु म । थुनिनु अघि बेतको डन्डा घुमाउँदै खिरिलो ज्यानको पुलिसले मलाई मेरो कसुर सुनाउँछ, संरक्षित क्षेत्रमा जबरजस्ती घुसेको । जबरजस्ती शब्द सुनेर मलाई सन्का चढेर आउँछ । शब्दको खास अर्थ लाग्ने अपराधका कसुरवालाहरू खुलेआम घुमेको दृश्य मेरो दिमागमा पनि घुम्न थाल्छ ।

तन्द्राको अवस्थाबाट एक्कासी ब्युझिन्छु म । ओहो ! अघिसम्मको अँध्यारो कोठा अहिले मध्यान्हको घाम चम्केझै झलमल्ल देख्छु । फेरि देभाजुको लक्षणले पो छोप्यो कि मलाई ? आफैँलाई छाम्छु तर छुवाइको अनुभूति पाउन अप्ठेरो हुन्छ । हत्तपत्त गोजिभित्रको पत्थर छाम्छु । लौ , त्यो त गायब छ ।

जादलेु झैँ ढोकाको ताला चुकुल बाहिर झुन्डिरहेको देखेपछि म चोर विरालाका पाइलाहरू चाल्छु र विस्तारै बाहिर निस्किन्छु । रंगीविरंगी थरिथरिका बत्तीहरूको चमक चिल्लो भुईमा पोखिएर आँखा तिरमिर पारिरहेको छ । विभिन्न जातका मनमोहक फुलहरु ढकमक्क फुलेर उज्यालो रातलाई अझ सिगाँरिरहेका छन् । एक्कासी यस्तो परिवर्तन कस्तरी भयो होला ? केही भेऊ पाउन नसकी म फराकिलो करिडरको चिप्लो बाटो हिड्दै अगाडि बढ्छु । करिडर सकिएपछि एउटा फराकिलो कोठा आइपुग्छ । त्यहाँको फराकिलो खाटमा खुट्टा फारेर उही मेरो चेलो भनाउँदो भूपू चोर उर्फ गार्ड सरोज मस्त निन्द्रामा घुरिरहेको हुन्छ । भित्तामा एउटा विशाल एलसिडि मनिटर विभिन्न दृश्यहरुमा विभक्त भएर चम्किरहेको देख्छु । परबाट हेर्दा ती दृश्यहरु स्पष्ट नदेखिएकाले म विस्तारै मनिटरको छेऊमा जान्छु । पहिले अंक एक लेखिएको भागमा हेर्छु । दृश्य अझै धुमिल भए पनि कताकता परिचित लाग्छ । प्रष्ट होला कि भनेर मैले त्यहाँ थिचेँ । त्यो भाग मेक्सिमाइज भएर पुरा मनिटर भरिन्छ र चलायमान हुन्छ हाइ डिफिनेसन भिडियो झैँ ।

मीठो मन्थन ३

दृश्यको वृतान्त पढ्दा यस्तो गन्धे पनि मीठो मन्थन कसरी भयो भन्ने लाग्ला तपाईंलाई । तर मेरा लागि मीठै भइदियो त त्यही बेला ।

भृकुटिमण्डपमा खाएको केराको ममःले आफ्नो असली चरित्र प्रमाणित गरेपछि मेरो बास डेराको पनि पाइखानामा पो हुन थाल्यो । परिस्थितिको पेलानमा परेर पाइखानालाई आफ्नै पुर्खौली विर्ता बनाएपछि बाहिर पालो पर्खेर बसेका पच्चीसजनाले दिएको पच्चीसै हजार वाक्यको गाली पनि पचाउनुपर्दा झन् गाह्रो भयो मलाई । । जिउको जल सुकेर पुरा लुलो भएँ । बिहानै आएको श्रुतीको म्यासेजको जवाफ फर्काउने तागत र समय दुवै जुराउन सकेको थिइँन । खाटमा जीऊ फ्यालेर थप पखाला जम्मा हुने पखाईमा थिएँ, त्यही बेला फोनको घण्टी बज्यो । श्रुती कलिङ । केही बेर त बोल्न सक्छु भन्ने शक्ति जुटेपछि उठाएँ ।

साइभक्त घरबेटीले छतमा बनाएको अग्लो साइमन्दिर हेरेर श्रुतीलाई मेरो कोठामा आइपुग्न खासै बेर लागेन । आइसक्दा उसले मलाई सेतो चक्की खुवाई । अनि हतारहतार मिनेरल वाटरमा घोलेर जीवनजल बनाई । तर त्यसभन्दा अघि नै म तङ्ग्रिसकेको थिएँ । तनको विरामलाई हरण गर्न मनमा मायाको चरण आइदियो ।

खरिएको जिउमा जीवनजलको चलमल सुरु भएपछि पो म खङ्रङ्ग भएँ, आफ्नो कोठाको हालत देखेर । तर थप तड्पिन नपाउँदै उसले मेरा सामानहरु मिलाउन थाली । टेबलमाथि र टेबलमुनि बराबर छरिएका किताबहरुलाई बटुलेर र्याकमा राखिदिई । बेलाबेला खाटमा आराम बटुलिरहेको मलाई पुलुुक्क हेर्थी र हाँस्थी । जति उसको हाँसोको चक्की मेरो मनले निल्थ्यो, त्यति मेरो जिउ अझ चङ्गा हुन्थ्यो । एक घण्टामा उसले लाथालिङ्ग मेरो कोठोलाई मिलाइवरी बढारेर सफा बनाई । पातलो जाउलो बनाएर अघान्जी खुवाई । उसको हाउभाउ, सामिप्यता र हेरचाहले कोठाभन्दा बढ्ता सफा व्यवस्थित र सन्तुष्ट मेरो मन भइदियो । उ गएको घण्टौंसम्म पनि निधारमा टाँसिएको उसको नरम चुम्बनको अनुभूतिले मनलाई औधी कुत्कुत्याइरह्यो ।

गन्धे गन्थन ५

हेर्दाहर्दैको दृश्य फेरि एक्कासी धमिलिन थाल्छ । अनि पुरा मनिटरमा लामा लामा कालासेता धर्साहरु कुद्न थाल्छन् र एकछिनमा सादा नीलो रंग भरिन्छ । अनि पहिले झैँ विभिन्न भागहरुमा विभक्त हुन्छ । यसपाली २ नम्बर लेखिएको दृश्यको भागमा थिच्छु । यो भाग पनि मेक्सिमाइज हुन्छ र धमिलो दृश्य प्रष्ट हुन खोज्छ । तर एक्कासी त्यो झ्याप्प हुन्छ र खामका असंख्य चित्रहरु फेरि देखापर्छन् । मनिटर अहिले अत्याधुनिक विद्युतीय हुलाकघरमा परिणत भएको छ । म खामहरूमा एकएक गर्दै थिच्दै जान्छु । श्रुती सेन्ट सो मेनी मेसेजेस् ।

“विराज, भाग्यमा भन्दा बढि मेहनतमा विश्वास राख्थेँ । तर कहिलेकाहिँ भाग्यले पनि मेहनतको नतिजालाई तलमाथि पार्ने सामथ्र्य राख्दोरहेछ । नेपालमै फुल स्कलरसिपमा पढ्ने सपना साकार पार्न मेहनत गर्दै थिएँ तर भाग्यले बङ्गलादेशको स्कलरसिप दिलाइदियो । अर्को हप्ता जाँदैछु । जानुअघि भेट्नुपर्छ है । सि यु ।”

“विराज, यो चटगाँवको गर्मीमा उकुसमुकुस भएर पनि आफूलाई अभ्यस्त बनाउने प्रयत्न गरिरहेछु । आइसक्दा पढाई सुरू भयो । यहाँको होस्टेलको खाना चपाउन पनि कस्तो गाह्रो भइरहेछ । पानीमा पनि खोइ कस्तोकस्तो गन्ध पाउँछु म त । एउटी बङ्गालीसँग रूम सेयर गर्नुपर्यो । तर खुलेर बोलचाल सुरू भएको छैन । अरु साथी पनि कोही बनेको छैन अहिलेसम्म । अघिल्लो ब्याचमा केही नेपालीहरू छन् अरे, तर पचिरय गर्ने असवर मिलिसकेको छैन । तिमीसँग खुलेर वात् मार्ने समय पनि पाएकी छैन । तिमी पनि व्यस्तै छौ नि उता । अरु बेला नभ्याए पनि सुत्नुअघि खुलेर दिनभरीको भोगाई एउटै म्यासेजमा लेख्नेछु म । तिमीले पनि त्यसै गर्नु है ।”

“विराज, बल्लतल्ल फस्ट समेस्टरको परिक्षा सकियो । यसपाली त जम्मा तीन दिन समेस्टर ब्रेक भएर फेरि धमाधम पढाई सुरू हुँदैछ । म अर्को परिक्षापछि मात्र आउन मिल्छ होला । अनि तिमीले पनि सुन्यौ नि हैन, त्यो मन्त्रीले भनेको नानाथरी । उसले भन्न खोजेको थियो होला, विदेशी भूमिमा पढ्न जाँदा नेपाली चेलिहरूले धेरै समस्या भोग्नुपर्छ । तर सिधै भन्दियो कि यहाँ पढ्न आउने प्रत्येक चेलीले आफूलाई सुम्पिन बाध्य हुनुपर्छ । बुझ्ने त शब्दको सिधा अर्थ न हो । भन्नेहरूले भने उसको जिब्रो चिप्लियो । तर मलाई लाग्छ उसको जिब्रो होइन, मानसिकता चिप्लिएको हो । अनि त्यो मानसिकता एक्कासी चिप्लिएको हैन । महिलालाई सधैँ कमजोर ठान्ने र घरबाट बाहिर जानासाथ शारीरिक उत्पीडनमा पर्नै पर्छ भन्ने पुरातन सोचले खियाउँदै ल्याएको हो त्यसलाई । पढाईको प्रेसरले दिमाग त तातिएकै थियो, यस कुराले त मन पनि तात्यो विराज । तर केही छैन, कसले के भन्यो भनेर धेरबेर तनाब लिइराख्ने पनि होइन म । यसो तिमीलाई सेयर मात्र गरेको । आफ्नो ख्याल राख । सि यु ।”

“विराज, तिमीलाई यति भेटुँ लाग्दा लाग्दै पनि किन जुर्दैन ? मलाई साह्रै उदेक लागेर आउँछ । पढाई सकेर आएपछि यसपाली त होला भनेको तर यो कोरोना दुस्मन बनेर आइदियो । लकडाउन भर्खरै सुरू भएको छ । यस्तो बेला आफू सुरक्षित भएर बस्नु नै राम्रो होला नि है । ख्याल राख है । भेट त चाँडै हुनेछ नै । सि यु ।”

“विराज , सँगै काम गर्ने साथीहरूमा भटाभटी पोजिटिभ रिजल्ट देखा पर्यो । कन्ट्याक्ट ट्रेसिङमा परेर मेरो पनि स्वाब परिक्षणका लागि लगेको छ । कस्तो आउने हो खोइ ? डर त छैन तर उत्सुकता चाहिँ बढिरहेछ । तर आफू नडराई जति नै आत्मबल बलियो पारे पनि नहुँदो रहेछ । यो डरपोक समाजले जसरी पनि कमजोर प्रमाणित गर्नै खोज्दो रहेछ । हिजो हामी बस्ने घरमा स्थानीयहरूले घेरा हाले । राति दुइचार ढुङ्गाहरू पनि बज्रिए । नजिक पर्न मिल्ने भए तिनीहरूले हामीलाई घिसार्दै लखेट्थे होला । हस्पिटलकै गाडीले पुर्याउने भए पनि ड्युटि सकेर फर्कदा डर लाग्छ । मान्छेहरू कसरी यस्तो संवेदनहीन हुन्छन् ? मलाई दिक्क लागिरहेछ । यसबेला तिमीलाई यति मिस गरिरहेछु, भनिसाध्ये छैन । चाँडै भेट होला नि । मेरो धेरै चिन्ता नलेऊ । आफ्नो ख्याल राख । सि यु ।”

“विराज, जति नै कामना गरे पनि हुनु पर्ने कुरो त भएर छाड्छ नि है । रिजल्ट पोजेटिभ भएपछि म अहिले हस्पिटलकै आइसोलेसनमा भर्ना भएकी छु । तर घाँटीमा अलिकति अप्ठेरो हुनुभन्दा बढि लक्षण देखिएको छैन । तिमी ढुक्क हुनु । यसपाली यसलाई जित्ने बित्तिकै जसरी पनि तिमीलाई भेट्न आउने वाचा भयो मेरो । आफ्नो चाहिँ ख्याल राख । सि यु ।”

जिउ थरथरी कामिरहेछ । अनुहारबाट बगेका पसिनाका कुलाहरुलाई रुमालले सोहोर्दै अर्को खाम थिच्न लागेको हुन्छु, एक्कासी झ्याप्प भएर मनिटर निभ्छ । अन गर्ने ठाउँ पनि देखिँन । म अत्तालिदै बाहिर निस्कन्छु । नीला टायल लगाएको चम्किलो बाटो हुँदै हतारहतार म श्रुतीको हस्पिटलको दिशातिर अघि बढ्छु । पहिलेका साँघुरा सडक र गल्लीहरू गन्धैले छिचोल्ने म अहिले यत्रायत्रा फराकिला र सफा सडक आँखा च्यातेर पनि पहिल्याउन सकिरहेको छुइँन । वरपरका भवनहरू पनि लहरमा मिलेर चम्किएका ताराजस्ता देखिन्छन् । यही दृश्यमा अल्मलिदैँ अगाडि बढ्दै गर्दा चोकको मोडमा एउटा आकृति देखा पर्छ । दुधजस्तै सेतो दौरा सुरुवाल माथि कालो कोट र कालो टोपी लगाएर सौम्य र शान्त मुद्रामा उभिएको उक्त आकृतिलाई नजिकबाट देखेपछि पो आश्चर्यचकित हुन्छु म । अरे यार ! प्रधानमन्त्रीज्यू !

म एक्कासी आत्तिन्छु तर फिर्ने माहोल बन्दैन । प्रधानमन्त्री म आत्तिएको देखेर विस्तारै मतिर आउँछन् र भन्छन्, “बाबु बिराज, किन हडबडाउनु भएको ? आउनुहोस् एकछिन बातचित गरौँ ।”

म अक्क न बक्क भएर हल न चल अवस्थामा उभिएको देखेपछि चस्मालाई नाकको डाँडीमा मिलाउँदै प्रधानमन्त्री आएर मलाई धाप मार्छन्, “विराज भाइ । तपाईँ पक्कै छक्क पर्नु भयो होला । देशको प्रधानमन्त्री मध्यरातमा विना सुरक्षा एक्लै यो चोकमा किन टहलिइरहेछ ? अब के गर्नु ? गर्नु पर्ने सप्पै कुरा गरेपछि त साह्रै बोर पो हुँदो रहेछ । आज त्यसै छटपटि भएर निन्द्रा परेन । आनन्दले सुतेका सुरक्षाकर्मीलाई मध्यरातमा के ब्युझाउँनु भनेर सुटुक्क हावा खान निस्केको । एक्लै डुल्न नपाएको पनि धेरै भइसकेछ ।”

“हजुर । तर मलाई कसरी चिन्नुभयो ? यसअघि त कहिल्यै हाम्रो भेट भएको थिएन ।”

“यही दैविक शक्ति पाएर म धन्य छु विराजजी । देख्ने बित्तिकै जुन पनि जनताको परिचय मेरो मनमा उम्रिहाल्छ ।”

म प्रधानमन्त्रीको अनुहार हेरेर भ्रममा छु कि भनेर आफूलाई छाम्छु । तर अघि झैँ छमाईको कुनै अनुभूति हुँदैन । प्रधानमन्त्री आफैँ थप्छन्, “केही समस्यामा हुनुहुन्छ कि विराजमानजी ?”

“म हस्पिटलतिर दौडेको प्रधानमन्त्रीज्यू । मेरी प्रेमिकालाई कोभिड संक्रमण भएको छ । तर यहाँ बाटो हरायो । केही सहयोग गर्नुहुन्छ कि ?” स्याँस्याँ गर्दै प्रधानमन्त्रीसँग सहयोगको अपेक्षा राख्छु म ।

“हे हे हे । के भन्यौ बाबु तिमीले ? कोभिड ? यानेकी त्यो कोरोना ? मैले त भुलिसकेछु कुनै बेला यसले पनि हाम्रो देशमा चियाउने दुस्साहस गरेको थियो भनेर ।” प्रधानमन्त्रीले आँखा चिम्रा पारेर सम्झिने प्रयत्न गर्दै भने ।

“कसरी प्रधानमन्त्रीज्यू ? अहिले यसैले यत्रो हाहाकार मच्चाइरहेको छ त ।”

“बाबु विराज, तिमी लामो तन्द्रामा छौ जस्तो छ नि । हेर त । आँखा च्यातेर हेर त । हामीले विकासमा यत्रो फड्को मार्यौँ । यही विकासको बलमा त्यो कोभिड भनाउँदोको चेनलाई ब्रेक उहिल्यै गरिसक्यौँ । तिमीलाई साँच्चै थाहा छैन बाबु ?”

“यस्तो कसरी भो र ?” अनविज्ञताले चक्मकाएको टाउको बेस्सरी हल्लाएर सोधेँ मैले ।

प्रधानमन्त्री आानन्दका पाइला चाल्दै हिड्छन् र अलिक परको फलामे फलैँचामा बस्छन् । नजिकै रहेको पोलमा टाँगिएको रङ्गिन झुम्मर हेर्दै लामो खुइय गर्छन् र भन्न थाल्छन्, “अगाडिको कुरा नगरौँ बाबु । तर जुन दिन गार्डले एउटा अमूल्य पत्थर भेटेर मलाई दियो, त्यस दिनदेखि हो मेरो दिमागमा झलमल्ल घाम लागेको लाग्यै छ । त्यही घामको उज्यालोले नै हेर त, देश यो मध्यरातमा पनि कति झलमल्ल छ ।”

उनले कोटको खल्तीबाट एउटा पत्थर निकाले । ओहो ! आँखा मिचेँ मैले । हराएको मेरो पोटासियम पत्थर ! यसलाई मतिर तेस्र्याउँदै उनले भने, “ल तिमी पनि थोरै चाख त यसलाई । अनि सबै याद आउला पक्कै ।”

मैले हत्तपत्त त्यसलाई लिएर चाटेँ । त्यसको हल्का नुनिलो हल्का अमिलो स्वादमा रम्न नपाउँदै एक्कासी झ्वाप्प अन्धकारले छोपेझैँ हुन्छ । भर्खरसम्मको फराकिलो सडक अहिले साँघुरो गल्ली भएको छ । सफाचट् लुगा लगाएर मसित बातचित गरिरहेका प्रधानमन्त्रीको ठाउँमा हिलो माटोमा लत्पतिएको आकृति पो देख्छु । हरे ! ऊ त उही भूपू चोर उर्फ सरोज गार्ड पो रहेछ । मलाई झक्झकाउँदै भन्छ ऊ, “गुरु, बल्लबल्ल भेटियो नि हजुरको दबाई । अहिले सबै ठिक छ नि हैन तपाईँलाई ?”

के ठिक ? के बेठिक ? ममा छुटुयाउने सामथ्र्य जुट्दैन । एकपटक आफैँलाई चिमोट््छु । यो पल्ट निकै तिखो गरी दुख्छ । म गार्डलाई त्यही छाडेर गल्लीमा जोडले कुद्न थाल्छु । त्यही बेला मोबाइलमा घ्यार्रघ््यार्र आवाज आउँछ । निकालेर हेर्छु , श्रुती सेन्ट अ म्यासेज ।

“विराज , आज बाह्र दिनपछि बल्ल नेगेटिभ रिजल्ट आएको छ । होस्टल फिरुँ भनेको घरबेटीले ताला लगाइसक्यो रे । तर्साउने बनेर आफन्तकोमा पनि कसरी जानु होला यस्तो बेला ? अब म तिम्रैमा आउँछु है । भोलि बिहानै आइपुग बानेश्वरमा लिन । वि विल मेक सम वन्र्डलफुल मोमेन्ट्स इन द टाइम अफ कोरोना । सि यु ।”

(सङ्ग्रौला “च्याट गर्ल” कथा सङ्ग्रह र “पर्पला” उपन्यासका लेखक हुन्)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको