वरिष्ठ शास्त्रिय गायिका इन्दिरा श्रेष्ठको निधन
२७ असोज, काठमाडौं । वरिष्ठ शास्त्रिय संगित गायिका एवम् कलानिधि इन्दिरा संगित महाविद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठको निधन भएको छ । थापाथलिस्थित आफ्नै निवासमा ८१ वर्षीया श्रेष्ठको मंगलबार निधन भएको हो ।
लामो समयदेखि सुगर र उच्च रक्तचापसँग लडिरहेकी श्रेष्ठ मुटुको शल्यक्रियापछि घरमै थलिएकी थिइन् । रोगसँग लड्दा लड्दै आज विहान ६ः३० बजे श्रेष्ठको दुखद निधन भएको कलानिधि इन्दिरा संगित महाविद्यालयका महासचिव रामचन्द्र अन्जानले बताए । उनले भने, ‘उहाँको निधनले कलानिधि इन्दिरा संगित महाँविद्यालयले आफ्नो अभिभावक गुमाएको छ । नेपाली संगीत क्षेत्रले नै एक सच्चा साधक र ठुलो हृदयकी समाजसेवी गुमाएको छ ।’
पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिसहित आजै श्रेष्ठको दाहसंस्कार गरिदैछ ।
को हुन् इन्दिरा श्रेष्ठ :
पिता स्व. बालकृष्ण श्रेष्ठ र माता माता बालकुमारी श्रेष्ठको कोखबाट वि.सं. १९९७ साल मंसिर २३ गते काठमाडौं महानगरपालिका, थापाथलिमा इन्दिरा श्रेष्ठको जन्म भएको थियो । क्याप्टेन गोपालप्रसाद श्रेष्ठसँग बैवाहिक सम्बन्धमा बाधिएकी इन्दिराका १ छोरा जयगोपाल श्रेष्ठ र दुई छोरीहरू मन्दिार र वन्दना श्रेष्ठसहित ३ सन्तान छन् । उनको पति क्याप्टेन गोपालप्रसाद श्रेष्ठको यसअघि नै निधन भइसकेको थियो ।
शैक्षिक योग्यतातर्फ श्रेष्ठले एम. एस्सी र एम. म्यूज (संगित प्रविण, गायन) उत्तिर्ण गरेकी थिइन् ।
नेपाल गृहिणी संघ, नागरिक अधिकार सुरक्षा मन्च, नेपाल महिला संगठन, नारी सेवा समन्वय समिति, नेपाल बाल संगठन, परिवार नियोजन संघ, क्षयरोग निवारण संघ, नेपाल जेसिसलगायतका दर्जन बढि संघ संस्थाहरूमा आवद्ध श्रेष्ठले महत्वपूर्ण योगदान दिएकी थिइन् ।
त्यस्तै वरिष्ठ गायिका श्रेष्ठ त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु, सुप्रख्यात विरेन्द्र राज्याभिषेक पदक, रत्न समाज सेवा पदक, एश्वर्य विद्या पदक, दैविप्रकोप सेवा पदक र विरेन्द्र ऐश्वर्य सेवा पदकलगायत दर्जनौं राजकीय सम्मान तथा पुरस्कारहरूबाट सम्मानित भएकी थिइन् ।
कलानिधि इन्दिरा संगित महाविद्यालयकी अध्यक्ष/संरक्षक रहेकी श्रेष्ठले आफ्नो व्यक्तिगत घर नै संगित विद्यालय सञ्चालनका लागि दान दिएकी थिइन् । जुन विद्यालयबाट नेपाली संगीतले दर्जनौं कुशल कलाकारहरू पाएको छ ।
उनले आफ्नै पहलमा जनकल्याण पुरस्कार कोष र बालकुमारी पुरस्कार कोषको स्थापना गरेर विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आएकी थिइन् । जिवनको अन्तिम समयसम्म पनि समाजसेवामा तल्लित श्रेष्ठ सदाका विदा भएकी छिन् ।
वरिष्ठ सर्जक एवम् समाजसेवी इन्दिरा श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि ।