१३ आश्विन २०८०, शनिबार

हुम्ला : प्रति कट्टा चामलको मूल्य २ हजार, ढुवानी खर्च ५ हजार ?



समर हुम्ली

२६ असोज, हुम्ला । नाम मात्रको सडकको रेखा बनाइएको हुम्लाको उत्तरी गाउँ लिमीमा खाद्यान्न ढुवानीमा तिन गुणा बढि खर्च भएको छ । कोरोना महामारीले चीनको तिब्बतको नाका बन्द हुँदा सदरमुकाम सिमकोटबाट लिमीसम्म बन्दोवस्तीका सामानहरू ढुवानी गर्दा ढुवानी खर्च धेरै महंगो पर्न गएको हो ।

कोरोना भाइरसका कारण चीनसँगको नाका बन्द भएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका बासिन्दा मर्कामा परेका छन् । उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । ३० कीलोग्रामको प्रति कट्टा ५ हजार पर्न गएको छ ।

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नम्बर ६ लिमी बस्ती चार हजार मिटरभन्दा अग्लो स्थानमा अवस्थित छ । चाहिने बन्दोबस्तका सामानहरू असोज कात्तिकसम्म जोहो गर्न नसके वर्षभरी व्यवस्था गर्न गाह्रो हुन्छ । यसका लागि ११ जनाको टोली लिएर सदरमुकाम सिमकोट पुगेका वडाअध्यक्ष पालजोर तामाङ भन्छन्, ‘तत्काल खाद्यान्न आपूर्ति नगरे भोकै मर्ने अवस्था आउँछ ।’

खाद्यान्न संकट भएपछि नाम्खा ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय बासिन्दासहित गत बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’

लिमी उपत्यकामा चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति हुने गरेको थियो । तर, यसपटक कोरोनाका कारण ११ महिनादेखि हुम्लासँगका हिल्सा र लाप्चा नाका बन्द छन् । जसले गर्दा तिब्बतीय व्यापारीसँग मगाएका सामान पनि नाकामै रोकिएको उनले बताए । ‘तिब्बतबाट केही आउन दिएको छैन । हाम्रो सामान पनि नाकामै रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘अहिलेसम्म त जेनतेन चलेको थियो, अब नसकिने भयो ।’

लिमी उपत्यकाका तीनवटा गाउँ तिल, जाङ र हल्जीमा एक सय ८० परिवार बस्छन् । तीनै गाउँमा जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । स्थानीयले फापर र आलु पनि उत्पादन गर्छन्, जसले बढीमा ६ महिना धान्ने गरेको छ । ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्छ, त्यसपछि तिब्बतबाट ल्याउने गरेका थियौँ,’ उनले भने ।

त्यसैले चार दिन हिँडेर चामलका लागि सदरमुकाम पुगेको स्थानीय टसीफुबु लामाले बताए । ‘गाउँबाटै खानपिन र बाटोमा वास बस्दा ओड्ने–ओछ्याउने कपडा बोकेर आएका हौँ’ उनले भने । उनीहरू पाँच हजार मिटरको उचाइमा रहेको न्यालु लेक पार गरेर सदरमुकाम पुगेका हुन् । लेकमा एक्लै आउँदा अप्ठ्यारो हुन सक्ने भएकाले समूहमा आएको उनको भनाइ छ ।

अब हिउँ पर्ने याम सुरू भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीय छिरिङमुटुप तामाङले बताए । लिमी उपत्यकामा कात्तिक मध्यतिरबाट हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुन्छ । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै आएको उनको भनाइ छ ।

लिमीबाट आएको टोलीले गत बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालासँग भेटघाट गरेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको वडाध्यक्ष तामाङले बताए ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले स्थानीय बासिन्दा डेलिगेसन आएको र खाद्यान्न आपूर्तिका लागि पहल भइरहेको बताए । केही दिनमै लिमीमा खाद्यान्न आपूर्ति गरिने उनको भनाइ छ । ‘छिटै खाद्यान्न आइपुग्छ, लिमीवासी आत्तिनुपर्दैन’ उनले भने ।

हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले खाद्यान्न आपूर्तिका लागि पहल गरिरहेको बताए । काठमाडौंमा रहेका उनले सम्बन्धित मन्त्रालय र निकाय धाइरहेको बताए ।

हामी माथिको आदेशको पर्खाईमा छौं । ग्रीन सिग्नल आयो भने तत्काल आवश्यक खाद्यान्न दिने तयारीमा छौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले बताएका छन् । अबको केही दिनमा लिमीका लागि चाहिने ६ महिनासम्मको चामल दिन सक्छौं ।

सरकारले दिएको अनुदानको चामल ३० केजीको प्रति कट्टा दुई हजार पर्छ भने ढुवानी प्रति कट्टा पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाँग र हल्जी गाउँमा पुगाउन प्रति केजी एक सय १७५ पर्ने भएको छ । यसबाट मुल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको