३० आश्विन २०७८, शनिबार

१३ दिने आन्दोलनले जन्माएको कर्णाली प्रदेशको ५ औं स्थापना दिवस



४ भाद्र, काठमाडौ । राजनीतिक नेतृत्वहरूले बलमिच्याई गरी तत्कालिन मध्यपश्चिमका केहि जिल्लाहरूलाई सुदुरपश्चिममा गाभिदिएपछि आन्दोलनको बिजारोपण भयो । अखण्ड मध्यपश्चिमको मागसहित २०७२ सालमा भएको आन्दोलनमा सुर्खेतमा ३ र जुम्लामा १ जनाले सहादत प्राप्त गरे ।

गलत सिमाङ्कन विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोलीले सुर्खेतमा यामबहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लामा हरिबहादुर कुवँर मारिए । आन्दोलन चलुञ्जेल जनभावनाको बेवास्ता गरिरहेको तत्कालिन शिर्ष नेतृत्व ५ जनाले ज्यानै गुमाइसके पछि मात्रै सुदुरपश्चिममा गाभिएका जिल्ला फिर्ता गर्न सहमत भयो ।

१३ दिनसम्म चलेको त्यहि अखण्ड मध्यपश्चिम आन्दोलनको जगमा २०७२ भदौ ४ गते १० जिल्लालाई मिलाएर घोषणा भयो छैटौं प्रदेश अर्थात् हालको कर्णाली प्रदेश । जनताको सङ्घर्ष र बलिदानीबाट स्थापना भएको कर्णाली प्रदेशले आज बिहिबार पाँचौं स्थापना दिवस मनाएको छ ।
शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार जनभावना र शहीदका सपना पुरा गर्न प्रतिवद्ध रहेको बताए । मन्त्री शाहीले मुलुक कोरोना महामारीसँग लडिरहेका कारण ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ मनाउन नसकिएको भन्दै दुःख व्यक्त गरे ।

तर शहीद परिवारले भने प्रदेश सरकारले जनभावनाको कदर र शहीदका सपना साकार पार्ने गरी काम गर्न नसकेको भन्दै गुनासो गर्दै आएका छन् । यसबीचमा शहीद पार्क निर्माण र भदौ ४ गतेलाई शहीद दिवसका रूपमा मनाउनु पर्ने माग सम्बोधन भए । तर अन्य महत्त्वपूर्ण मागका सन्दर्भमा सरकार उदासिन बनेको भन्दै शहीद यामबहादुर बिसीकी बहिनी भगवती बिसीले दुःख व्यक्त गरिन्। उनले भनिन्, ‘शहीदको शालिक निर्माण, शहीदगेट निर्माण, शहीदको नाममा चोक नामाकरण र परिवारलाई रोजगारी दिने मागहरू सम्बोधन गर्न सरकारले चासो देखाइरहेको छैन ।’ अखण्ड मध्यपश्चिम आन्दोलनमै भाइ हरिबहादुर कुँवर गुमाएका जुम्लाका राजबहादुर कुवँरले शहीदको रगतले भूगोल प्राप्त भएपनि आम नागरिकका सपना पुरा हुन नसकेको बताए । उनले शहीदको बलिदानीले स्थापित कर्णाली प्रदेश सरकारले कर्णालीको गरिवी र अभावको परिभाषा बदल्न नसकेकोप्रति दुःख व्यक्त गरे ।

सरकार हाक्ने राजनीतिक नेतृत्व शहीदका सपना र जनभावनाप्रति इमान्दार नभएसम्म समृद्धि सम्भव छँदै छैन । प्रदेश स्थापना दिवसमा शहीदका सपना पुरा हुने भन्दै मुख्यमन्त्री शाहीले व्यक्त गरेका नगद प्रतिवद्धता उदारा नहुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको