२० मंसिर २०७८, सोमबार

राधा पौडेल फाउण्डेशन र रूपान्तरण नेपालद्वारा पौष्टिक खाद्यान्न वितरण



२४ असोज, काठमाडौं । रूपान्तरण नेपाल र राधा पौडेल फाउण्डेशनले शनिबार दैलेख जिल्लाको नारायण नगपालिकाका विपन्न, गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पौष्टिक खाद्यान्न वितरण गरेको छ । नारायण नगरपालिकासँगको सहकार्यमा गरिएको उक्त कार्यक्रममा ३ वटा दलित बस्तीका ८७ जना र अन्य समुदायका १० जना गरी ९७ जना महिलाहरूलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ । जसमा वादी समुदायको बसोबास रहेको नमुना बस्ती, रातीमाटा टोल, ढकानी टोललाई समेटिएको छ ।

‘कोभिड–१९ मा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार व्यवस्थापन अभियान परियोजना–२०७७’ अन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाको प्रमुख आतिथ्यतामा पौष्टिक खाद्यान्न वितरण भएको हो । कार्यक्रममा थापाले कोरोना महामारीको विषम परिस्थितीमा गरिवहरूलाई दैनिक छाक टार्न पनि अप्ठ्यारो परेको अवस्थामा राधा पौडेल फाउण्डेशन र रूपान्तरण नेपालले विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई पौष्टिक खाद्यान्न उपलब्ध गराउने काम निकै प्रशंसायोग्य भएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामी धेरैले कोरोनाबाट बच्नका लागि सावुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने कुरा थाह हुँदाहुँदै पनि लापरवाही गरिरहेका छौं ।’ यस कुरामा हेलचक्र्याइँ नगर्न समेत जिल्लावासीलाई थापाले अनुरोध गरेका छन् ।

कोरोना महामारीका बेला बढि जोखिममा रहेको समूह विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले पौष्टिक खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक सिता शाही सिंहले जानकारी दिइन् । उनका अनुसार प्रत्येकलाई २ किलो दाल, २ किलो केराउ, २ किलो चना, ५ किलो पिठो, २ प्याकेट तेल र २ पोका आयोडिनयुक्त नुन वितरण गरिएको छ ।

कार्यक्रममा नारायण नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष रमेश के.सी., युनेस्को केन्द्र दैलेखकी अध्यक्ष पद्मा योगी, धमाका राष्ट्रिय दैनिकका सम्पादक विष्णु शर्मा र वडा नम्बर १ का सचिव गोपाल श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित युवा स्वयम्सेवकहरूको सक्रियतामा मास्क, सेनिटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम गरी गरिएको उक्त कार्यक्रमको सञ्चालन नारायण क्याम्पसका स्ववियु अध्यक्ष रेखा थापा र सहजिकरण रोहित लामिछाने मगरले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको