विश्वकप छनोटको सुरूवातमै ब्राजिलको ५ गोल
४ असोज, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गतको अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५–० गोलले पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई शुन्यमा सिमित पार्दै ब्राजिलले आफ्नो लिगेशी कायम गरेको हो ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा थप ३ गोलसहित ब्राजिलले ५ गोलको सानदार जित हासील गर्यो ।
ब्राजिलका लागि मार्किन्होसले १६ मिनेटमा, रोबर्टो फिर्मिनोले ३० मिनेटमा र फेरी नेइमारको पासमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिलले ३ गोलले अग्रता लियो ।
बा्रजिलका लागि सुनमा सुगन्ध र बोलिभियाका लागि आफ्नै खुट्टामा बन्चरो त्यतिखेर साबित भयो जब बोलिभियाका कारास्कोले आफ्नै पोष्टमा गोल गरे । बोलिभियाको गोलले ४ गोलको अग्रता लिएको ब्राजिलका लागि ७३ औं मिनेटमा फिलिप काउटिन्होले ५ औं गोल गरे । नेइमारको पासमा काउटिन्होले गरेको गोलसँगै समग्रतामा बोलिभियालाई बा्रजिलले ५ गोलले पराजित गर्यो ।
त्यस्तै अर्को छनोट खेलमा कोलम्बियाले भेनेजुयालालाई ३–० गोलले पराजित गरेको छ ।