१२ जेष्ठ २०८०, शुक्रबार

रूपान्तरण नेपालद्वारा युवा स्वयंसेवकहरूलाई अभिमुखिकरण



२३ असोज, काठमाडौं । ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित रूपान्तरण नेपालले अभिमुखिकरण तालिम प्रदान गरेको छ । राधा पौडेल फाउण्डेशनको सहयोग तथा नारायण नगरपालिकासँगको सहकार्यमा युवा स्वयंसेवकहरूलाई असोज २२ गते अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

‘कोभिड–१९ मा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार व्यवस्थापन अभियान परियोजना–२०७७’ अन्तर्गत नारायण नगरपालिकाका युवा स्वयंसेवक तथा सरोकारवालाहरूका लागि कार्यशाला गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कोरोना महामारीका बेला नारायण नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, मर्यादित महिनावारीका विषयमा जनचेतना फैलाउनका लागि युवा स्वयंसेवकहरूलाई अभिमुखिकरण गरिएको आयोजक संस्था रूपान्तरण नेपालले जानकारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले कोरोनाको कहरमा अरू निकायको विशिष्टिकृत ढङ्गले ध्यान पुग्न नसकेको क्षेत्रमा राधा पौडेल फाउण्डेशन र रूपान्तरण नेपालले विशेष ध्यान दिएकोमा धन्यवाद दिएका छन् । यस परियोजनाले नारायण नगरपालिकाका महिलाहरूको प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान हुने विश्वास उनले व्यक्त गरेका छन् । दशैं तिहार लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा कोभिडको प्रकोप पनि बढ्दो भएकाले सबैले आ–आफ्नो ठाउँबाट व्यापक सतर्कता अपनाउन नगर प्रमुख खड्काले आह्वान गरेका छन् ।

कार्यक्रममा नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ, महिला नेतृ तप्ता थापा, नारायण क्याम्पसकी स्ववियु अध्यक्ष रेखा थापा लगायतको उपस्थिती रेहको थियो ।

कार्यक्रममा सहभागी युवा स्वयंसेवकहरूलाई महिला स्वास्थ्यसम्बन्धी प्रशिक्षक पद्मा योगी, सेतो गुराँसकी अध्यक्ष गिता रम्तेल र स्वास्थ्य इकाई प्रतिनिधि कृष्णादेवी रेग्मीद्वारा तालिम प्रदान गरिएको थियो ।

यस अभियानमा सहयोग गर्ने स्वयंसेवक भाइबहिनीहरूले आफू सुरक्षा सावधानी अपनाएर यौन तथा प्रजनन स्वास्थ्य, अधिकार व्यवस्थापन तथा मर्यादित महिनाबारीका विषयमा नारायण नगरपालिकामा जनचेतना फैलाउन सहयोग पुग्ने कार्यक्रम संयोजक सिता शाही सिंहले जानकारी दिइन् । उनले यूवा स्वयंसेवकहरूलाई परियोजनापश्चात् कदर–पत्र प्रदान गरी सम्मान समेत गरिने बताइन् ।

१५ जना स्वयंसेवकहरू र अन्य सरोकारवालाहरू गरी करिब ३० जना सहभागी उक्त कार्यक्रमको सहजिकरण रोहित लामिछाने मगरले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको