२१ मंसिर २०७८, मंगलवार

प्राध्यापक चलाउनेमाथि भएको कुटपिटको विरोधमा उपकुलपति कार्यालय घेराउ



२३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्याक प्रेम चलाउनेमाथि असोज २० गते एक अराजक समूहले रड प्रहार गरेको छ । चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय हाताभित्र रहेको नेपाल बैंक लिमिटेड एटिएमबाट पैसा निकाली आवास गृहमा फर्कँदै गर्दा ज्यान लिने उद्देश्यले साङ्घातिक हमला गरिएको हो । रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागी हाल मेडिसिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

यस घटनाका विरोधमा बिहीबार प्राध्यापकहरूले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध ७० भन्दा धेरै प्राध्यापकले करिब ५० मिनेट उपकुलपति कार्यालय घेराउ गरेका हुन् ।

घटना भएको तीन दिन वितिसक्दा पनि घटनामा सङ्लग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरूले विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनको दायरामा ल्याउन माग गरका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संघका सदस्य गंगा डीसीले आफ्ना कर्मचारीमाथि आक्रमण हुँदा विश्वविद्यालय नेतृत्व के हेरेर बसेको छ भनेर जवाफ माग्न उपकुलपति समक्ष गएको बताए । प्राध्यापकहरूले उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन–पत्र बुझाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन विश्वविद्यालयले पहल नगरे आन्दोलनका थप कार्यक्रम अगि बढाउने डीसीले बताए ।

उपकुलपति बाँस्कोटाले ज्ञापनपत्र बुझ्दै दोषीलाई कारबाहीका लागि विश्वविद्यालयले पहल गरिरहेको र दोषी उम्कन नदिने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको