अखिलका सबै संरचनामा महिला सहभागिता सुनिश्चित गरिनु पर्छ : आरती लामा
२२ असोज, काठमाडौं । तत्कालिन एमाले निकट अनेरास्ववियुकी सचिव विद्यार्थी नेतृ आरती लामाले अखिलमा महिला सहभागीता सनिश्चित नभएकोप्रति असन्तुष्टि जनाएकी छिन् । एक लिखित असन्तुष्टि पत्र बुझाउदै नेतृ लामाले अखिलका सबै संरचनाहरूमा महिला सहभागिता सुनिश्चित गर्न माग गरेकी हुन् ।
एकिकृत अनेरास्ववियूका पदाधिकारी, सचिवालय, कमिटिलगायतका सबै संरचनाहरूमा महिला, जनजाती, मधेसी, मुस्लिम, अल्मपसंख्यकको सहभागिता सुनिश्चित गरिनुपर्ने लामाले बताएकी छिन् ।
नेतृ लामाले अनेरास्ववियू नेतृत्वलाई बुझाएको ज्ञापन पत्रमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि दुवै विद्यार्थी संगठनको पदाधिकारीमा महिला सहभागिताको सुनिश्चितता गरिए पनि एकीकरण पछाडि भने त्यसलाई बेवास्ता गरिएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा लेखिएको छ, ‘पहिले पदाधिकारीमै महिला लगायतका सबै समुदायका विद्यार्थीको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिएको थियो, तर अहिले जिल्ला तहमा एकिकरण गर्न पठाइएको सर्कुलरमा समेत महिला प्रतिनिधित्वको सवालमा नै कतै उल्लेख गरिएको छैन ।’
‘सर्कुलर सच्याएर पुन जारी गर्दै महिला सुनिश्चिततालाई गम्भिरतापूर्वक ग्रहण गर्न संगठनका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङलाई लिखित ध्यानाकर्षण गराएको नेतृ लामाले बताएकी छिन् ।
‘अहिले अनेरास्वयवियूले मुलुकभर केवल एक जिल्लामा मात्रै महिला संयोजक चयन गरेको छ ।’ यस्तो बैचारिक विभेदको पीडा अुनभूति भइरहेकै बेला समावेशिताको सिद्धान्तलाई बेवास्ता गरि नेतृत्वले जिल्लास्तरमा सर्कुलर गरेपछि आफु ज्ञापन पत्र बुझाउने बिन्दुमा पुगेको लामाले बताइन् । उनले भनिन्, ‘नेपालको संविधान, पार्टीको विधान र संगठनले विगतदेखि नै अघि सार्दै आएको समावेशिताको मूल्य र मान्यतामाथि प्रहार हुनु निकै दुखःद विडम्बना हो ।’
पार्टी एकीकरणका क्रममा भएको भन्दै नेकपाले निर्वाचन आयोगलाई महाधिवेशनबाट महिला सहभागिता सुनिश्चित गरिने प्रतिवद्धता जनाएको छ । अहिलेको परिप्रेक्ष्यमा नेकपाको कार्यकारी निकाय सचिवालयमै एक जना पनि महिला नेतृलाई अटाइएको छैन ।