२२ जेष्ठ २०८०, सोमबार

अमेरिकामा कोरोना सङ्क्रमित संख्या ७५ लाख नाघ्यो



२१ असोेज, काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ७५ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले बुधबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा दुई लाख १५ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म १० लाख ५५ हजार ९९८ पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६१ लाख पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ९४ हजार भन्दा बढी हजार निको भएका छन् भने करिब ७८ लाख ७४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमितको ६७ लाख ५७ हजार पुगेको छ । हालसम्म सङ्क्रमणबाट भारतमा १ लाख ४ हजार ६५१ जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख ७० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ४७ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४८ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ८६५ जनाको मृत्यु भएको छ । रसियामा दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरू घोषणा गर्न थालिएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको