वाग्मती प्रदेशद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड
२१ असोेज, हेटौँडा । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रू. तीन करोडको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे । रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिदै मुख्यमन्त्री पौडेलले भने, ‘रङ्गशाला निर्माणमा धेरै चुनौतीहरू रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुको विकल्प छैन ।’
सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार प्रकट गर्दै रङ्गशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै काम सम्पन्न गरिने विश्वास व्यक्त गरे ।
(रासस)