१३ कार्तिक २०७७, बिहीबार

कोरोना महामारीमा हुम्लाका ७ स्थानीय तहको खर्च करीब ५ करोड



समर हुम्ली

२१ असोज, काठमाडौं । कोरोना भाइरस रोेकथाम, न्यूनिकरण तथा सचेतनाका लागि हुम्लाका सात स्थानीय तहले करीब ५ करोड रकम खर्च गरेका छन् । प्रत्येक गाउँपालिकाले सालाखाल ५५ लाख रकम खर्च गरेका छन् । कर्णाली प्रेदश सरकारले प्रति गाउँपालिका १५ लाखका दरले बजेट उपलब्ध गराएको थियो ।

कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अदानचुली गाउँपालिकाले ६० लाख, खार्पुनाथ गाउँपालिकाले ५४ लाख, चंखेली गाउँपालिकाले ४३ लाख, ताँजाकोट गाउँपालिकाले ५८ लाख, नाम्खा गाउँपालिकाले ३१ लाख, सर्केगाड गाउँपालिकाले ४८ लाख र सिमकोट गाउँपालिकाले ८७ लाख गरी ३ करोड ८१ लाख गाउँपालिकाको आन्तरिक वजेटबाट खर्च गरिएको छ । प्रत्येक गाउँपालिकाले १५ लाखका दरले १ करोड ५ लाख गरी ४ करोड ८६ लाख खर्च गरेको जानकारी हुम्लाका सात गाउँपालिकाका लेख अधिकृतबाट प्राप्त भएको छ ।

खार्पुनाथ गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना नियन्त्रणका लागि खर्च भएको ५४ लाखमध्ये ३३ लाख भुक्तानी गरिसकेको छ । बाँकी रहेको २१ लाख योे चालु आर्थिक वर्षमा भुक्तानी दिने तयारीमा रहेको खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताए ।
प्रदेशबाट प्राप्त १५ लाख र गाउँपालिको ३१ लाख गरी नाम्खा गाउँपालिकाको कुल ४६ लाख खर्च भएको छ । जसमा २५ लाख भुक्तानी गरे पनि १६ यो चालु आर्थिक वर्षमा भुक्तानी गरिने लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी दिएका छन ।

हुम्ला जिल्लाका सात स्थानीय तहले कोभिड–१९का लागि खर्च गरिएको करीब ५ करोड रकममा धेरैजसो बील मिलाएर रकमको दोहन गरेको आरोप पनि लागेको छ । तैपनि धेरै हुम्लीहरूलाई नेपालका विभिन्न स्थानबाट उद्दार गरेर जिल्लामा ल्याउने कार्य सराहनीय नै मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु