पहिलो पटक कोरोना सङ्क्रमित संख्या ३ हजार नाघ्यो
२१ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए । यो संख्या हालसम्मकै सबैभन्दा बढि हो ।
काठमाडौं उपत्यकामा आज (बुधाबार) मात्रै १६ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ९४ हजार २ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार १२६ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार ७ सय छ ।
पछिल्लो २४ घण्टामा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।
बुधबार देशका विभिन्न प्रयोगशालाहरूमा १४ हजार २०९ जनाको पिसिआर परिक्षण भएको छ ।