३ आश्विन २०८०, बुधबार

डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भिर छ : प्रधानमन्त्री ओली



२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा चिकित्सक प्रा. डा. गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको बताएका छन् ।

बैठकमा कोरोना महामारीको विषम परिस्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न डा.केसीलाई आग्रह गर्ने निष्कर्ष निकालिएको थियो । प्रा. डा. केसी गत २३ दिनदेखि आमरण अनशनमा छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोली आज अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी केसीलाई भेटेको थियो । सरकारले उनका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ । जवाफमा डा. केसीले औपचारिक वार्ता टोली गठन हुनुपर्ने माग गरेका छन् ।

मन्त्रिपरिपषद्मा रिक्त तीन सदस्यको पूर्ति, अन्य हेरफेर र संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गृहकार्य जारी रहेकाले आजकोे बैठकमा त्यसबारे सामान्य मात्रै छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आगामी चैत २५ देखि ३० गतेसम्म नेकपाको महाधिवेशन गर्ने निर्णय यसअघि नै भइसकेको थियो । महानिवेशनकै तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको