५ आश्विन २०७८, मंगलवार

जङ्गलमा फालिएको २८ दिने शिशुको उद्दार, आमा पक्राउ



१९ असोज, काठमाडौं । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्दार गरिएको छ । शारदा नगरपालिका वडा नम्बर ३ घोरलोटेको जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्दार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्किएकी शारदा–३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा फालेर गएको प्रहरीले जनाएको छ । श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्दार गरी सल्यान अस्पतालमा लिएर उपचार सुरू गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरूले थाहा पाउने डरले जङ्गलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको