४ कार्तिक २०७७, मंगलवार

दशकौंदेखिको युद्ध अन्त्य : सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता



१८ असोज, काठमाडौं । दशकौंदेखि युद्धमा होमिएको सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सरकार र विद्रोही समूहबीच करिब एक वर्षदेखि जारी वार्ता शान्ति सम्झौतामा परिणत भएको हो ।

शान्ति सम्झौतामा हस्ताक्षरसँगै सूडानमा सैयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्ध अन्त्य हुने भएको छ ।

दक्षिण सुडानको राजधानी जुबामा विद्रोही र सरकार प्रतिनीधिबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको बताइएको छ । दक्षिण सुडानी मध्यस्स्थता टोलीका प्रमुख तुट गात्लुआकले शान्ति सम्झौतामा हस्ताक्षर भएको र सरकारको लक्ष्य पुरा भएको बताएका छन् ।

लामो समयदेखि सुडानमा एकात्मक शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाइएपछि विगत १ वर्षदेखि सङ्क्रमणकालिन सरकार गठन गरिएको थियो । उक्त सरकारको प्रमुख लक्ष्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अत्यका लागि सम्झौता गर्नु रहेको थियो ।

चाड, कतार, अफ्रिकी संघ तथा संयुक्त राष्ट्रसंघलाई साक्षि बनाएर शान्ति सम्झौता गरिएको छ । सुडानका तर्फबाट अर्धसैनिक लडाकु मोहम्मद महदान र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अधिकांश विद्रोही समूह सम्झौतामा आइसकेपनि अझै २ वटा समुहले सम्झौतामा सहभागिता जनाएका छैनन् । डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही विद्रोही समूहहरूले यस अघि नै सम्झौता गरिसकेको अवस्थामा बचेका २ समूह पनि स्वतः सम्झौतामा समेटिने अपेक्षा गरिएको छ ।

(एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु