इँटाभट्टामा दर्जन बढिलाई जिउदै जलाउने फरार अभियुक्त सहनी पक्राउ
१७ असोज, काठमाडौं । इँटाभट्टामा दर्जन बढिलाई जिउँदै जलाएर विभत्स हत्या गरेको आरोप लागेका फरार अभियुक्त बद्रि सहनीलाई प्रहरीले पक्राउ गरेको छ । काङ्ग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटको जघन्य मानव नरसंहारमा संलग्न ५५ वर्षीय सहनी नेपाल–भारत सिमाबाट पक्राउ परेका हुन् ।
रौतहट बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित नेपाल–भारत सिमाको बड्की बंकुल क्षेत्रबाट सहनीलाई पक्राउ गरिएको प्रहरी नायव महानिरिक्षक धीरजप्रताप सिंहले जानाकारी दिए । उनले भने, ‘बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का फरार अभियुक्त सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।’
प्रहरीको अनुसन्धानले एकिन गरेअनुसार सहनी इँटाभट्टाका हेडमिस्त्री थिए ।
अफताव आलमको योजनामा पहिलो संविधान सभा निर्वाचनलाई लक्षित गरी वि. सं. २०६४ साल चैत्र २७ गते रौतहट साबिक फरदहवा गाविस वडा नम्बर ४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो । उक्ता विस्फोटनमा ३ जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए ।
अफताव आलम र महताव आलमको निर्देशनमा विस्फोटनमा परी घाइते भएका त्रिलोकप्रताप राजपुतसहित १६ जनालाई २०६४ सालमा जिउदै इँटाभट्टामा जलाइएको थियो ।
सो घटनाका मुख्य योजनाकार काङ्ग्रेस नेता अफताव आलम पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।
प्रहरी नायव महानिरिक्षक सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममै सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा आफैले हालेको स्वीकार गरिसकेका छन् । पक्राउ परेका अभियुक्तको बयान लिनेक्रम सुरू भएसँगै अफताव आलम डिजाइनको जघन्य मानव अपराधको रहस्य थप छर्लङ्ग हुने अपेक्षा गरिएको छ ।
ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रारम्भिक अनुसन्धानमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए।