२० जेष्ठ २०८०, शनिबार

हुम्लामा महिलाको कपाल मुण्डन, पुरूषलाई मलमुत्र खुवाएर जुत्ताको माला लगाइयो



कर्णबहादुर रोकाया

१७ असोज, हुम्ला । परपुरूषसँग लसपस गरेको आरोपमा हुम्ला सिमकोट ७ आख्रेनकी २३ वर्षीया महिलाको कपाल मुण्डन गरिएको छ । अनैतिक सम्बन्ध राखेको आरोपमा २७ वर्षका देवर नातापर्ने पुरूषलाई महिलाका श्रीमान् र उनका आफन्तहरू मिलेर दिसा खुवाई, जुत्ताको माला लगाई गाउँ घुमाएर कपाल समेत मुण्डन गरेका छन् ।

गाउँकै देवर नाता पर्ने २७ वर्षका गादीराज शाहीसँग लामो समयसम्म अनैतिक सम्बन्ध राखेको भन्दै शुक्रबार बिहान शाही थरकी महिलालाई उनका श्रीमान् धनबहादुर शाही र अन्यले निर्घात कुटपिट गरेका थिए । बिहान ८ बजेतिर आरोपी गादीराज शाहीको घरमा गएर शारीरिक यातना दिइएको प्रत्यक्षदर्शिले जनाएका छन् ।

उनीहरूका अनुसार आरोपी शाहीलाई दिषा खुवाइएको, कोलो मोसो दलेर जुत्ता माला लगाइएर गाउँ वरिपरी घुमाइएको थियो । शाहीहरूले विभिन्न प्रकारका विवाद र मुद्दाहरू छिनोफानो गर्ने बारो नामक परम्परागत धर्म कचहरीको उपमा पाएको स्थानमा लगेर खम्बामा बाँधेर यातना दिएको पीडितहरूले बताएका छन् ।

करीब तीन चार घण्टासम्म अमानवीय यातना दिएर पनि नपुगेर अझै दुबैलाई नाङ्गै पारेर पाता कसेर राख्ने प्रयास गर्दा केही मानिसहरूले रोकेको उनीहरुले जानकारी दिएका छन् ।

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नै अघि रोइरहेकी दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको पिरले रूवाइरहेको छ ।’ उनले भनिन् ।

२३ वर्षीया महिला र २७ वर्षका पुरूष दुबैका एक छोरा र एक छोरी छन् । मोबाइल साँटफेर गरेको निहुँमा गाउँका केही राजनीतिक दलका अगुवाहरू र अन्य जान्नेमान्ने व्यक्तिहरू समेत समावेश भएर अमानवीय तवरले कुटपिट गरेको पीडितहरूले बताएका छन् ।

कुटपिट गर्ने श्रीमान्सहित ८ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरिसकेको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ ।’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको