१४ फाल्गुन २०७७, शुक्रबार

घर पहिरोले लगेपछि १९ दिनकी सुत्केरीको बास पौवामा



१६ असोज, अर्घाखाँची । बस्ने घर नभएपछि उन्नाइस दिनकी सुत्केरीको पौवामा बास भएको छ । यही असोज ९ गते दिउँसो खसेको पहिरोले लेगेपछि २० वर्षीया सुत्केरी विमला नेपाली एक सातादेखि नवजात शिशुको पौवामा बसेर स्याहारसुसार गरिरहेकी छिन् ।

एक सातादेखि शितगङ्गा नगरपालिका वडा नम्बर १२ कोठियाको पौवामा बसेर ज्यान जोगाएको सुत्केरी नेपालीले बताइन् । बच्चालाई जेनतेन स्याहार गरिरहेको बताउदै उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरूले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । अहिले राहत आएपछि भात खान पाएको छु ।’ उनिमात्र होइन २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामै बसिरहेकी छिन् । उनको पनि घर पहिराले भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ ।

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरू पाटी पौवा र खुल्ला आकाशमुनि दिन रात काट्न बाध्य भएका छन् । सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ । नगरपालिकाको वडा नम्बर १२ कोठिया मैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

कोठिया मैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए । ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरूपमा भत्किएका छन्, १३ घर पहिराको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिराको जोखिममा रहेका छन् ।

पहिरोको क्षतिको विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु