स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना पुष्टि : जुम्लाको सदरमुकाम खलङ्गा सिल
जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले स्वास्थ्यकर्मीलाई कोरोना पनि देखिएको जानकारी दिनुभयो । उनका भने, ‘अहिले आकस्मिक बाहेक अस्पतालको अरू सम्पूर्ण सेवा समेत बन्द गरिएको छ ।’
(रासस)