अवकास प्राप्तहरूको नियुक्तिप्रति नेकपाकै नेताहरूको असन्तुष्टि
१५ असोज, काठमाडौं । सरकारले भर्खरै अर्थमन्त्रीको कार्यकाल सकिनै लाग्दा राजीनामा दिएका युवराज खतिवडलाई फेरी अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ ।
त्यस्तै कात्तिक १० गते कार्यकाल सकिँदै गरेका मुख्य सचिव लोकदर्शन रेग्मीलाई मन्त्रीपरिषद्ले बेलायतको राजदूत नियुक्ति सिफारिस गरेको बताइएको छ । बेलायतको राजदूत बन्ने सुइको पहिल्यै पाएर होला लोकदर्शनले आजै मुख्य सचिवबाट राजीनामा दिइसकेका छन् ।
संवैधानिक रूपमै अर्थमन्त्रीको कार्यकाल सकिएपछि राजीनामा दिएका खतिवडालाई ओलीले तत्काल प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । खतिवडाले आर्थिक क्षेत्रका विषयमा कुनै प्रभावकारी सल्लाह दिन नसकिरहेकै अवस्थामा फेरी उनलाई अमेरिकाको राजदूत नियुक्त गर्ने सरकारले सिफारिस गरिदिएको छ ।
विगतमा राष्ट्र बैंकका गभर्नर खतिवडा एउटै व्यक्ति राष्ट्रिय योजना आयोग उपाध्यक्ष, जनमत बिनै राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै अमेरीकाको राजदूत नियुक्त हुने भएका छन् ।
विगतमा राष्ट्र बैंकका गभर्नर खतिवडा एउटै व्यक्ति राष्ट्रिय योजना आयोग उपाध्यक्ष, जनमत बिनै राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै अमेरीकाको राजदूत नियुक्त हुने भएका छन् ।
राजदूत नियुक्तिलाई लिएर नेकपाकै प्रधावशाली नेताहरूले भने सामाजिक सञ्जालमा असन्तुष्टिसहितका अभिव्यक्ति दिएका छन् ।
नेकपा केन्द्रिय सदस्य, पार्टी प्रचार विभाग उप–प्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको अभिव्यक्ति यसपाली भने विवादको घेरबाट उन्मुक्त र अलि लचिलो देखिएको छ । आजै नेपाल सरकारको मुख्य सचिवमा नियुक्त शंकरदास वैरागीलाई थापाले बधाई तथा शुभकामना दिएका छन् । कुलमानको विषयमा अलि कडा टिप्पणीमा उत्रदा सामाजिक सञ्जालमा विवादको तारो बनेका थापाले यसपाली युवराज र लोकदर्शनको पक्षपोषण हुनेगरी लखेको देखिएन ।
नेकपा कन्द्रिय सदस्य एवम् सांसद रामकुमारी झाक्रिले भने सरकारको निर्णय र विशेषगरी प्रधानमन्त्रीप्रति लक्षित गर्दै निकै कडा अभिव्यक्ति दिएकी छन् । झाक्रीले नेतृत्व विधि र पद्दतिसङ्गत नचलेपछि पार्टी नामको प्राइभेट कम्पनीबाट अपेक्षाकृत निर्णय नै भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘सरले रगत, खकार, सिगान, थुक…..आदीबाट डि.एन.ए टेष्ट गरेर मात्र जिम्मा दिनुहुन्छ ।’
नेकपा केन्द्रिय सदस्य एवम् माक्सवादी अर्थशास्त्री डा. विजय पौडेलले अवकास हुन नपाउदै जिवनभर उच्च पदमा बसेका मुख्य सचिव/सचिवहरूलाई तुरून्तै राजनितिक नियुक्ति दिने काम बन्द गर्न सरकारलाई आग्रह गर्दै लेखेका छन्, ‘यिनको विशेषज्ञताको कदर हुनु पर्दछ तर के विशेषज्ञता के हो भन्ने पनि थाहा हुनु पर्यो । चाकरी विशेषज्ञता हैन है ।’ समाजवादका लागि हरेक क्षेत्रमा ‘ब्रेक थ्रु’ गर्नु आवश्यक हुने बताउदै डा. पौडेलले ब्रेक लगाउन खप्पिस ब्युरोक्र्याटहरूको गफ पत्याउनु अघि मुख्य सचिव/सचिव हुँदाका बेलाको काम मुल्याङ्कन गरिनुपर्ने बताएका छन् । समग्रतामा डा. पौडेलले चाकरीलाई विशेषज्ञता ठानेर गरिने नियुक्तिले समाजवादका लागि आवश्यक ‘ब्रेक थ्रु’ सम्भव नभएको स्पष्ट पारेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य, प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं प्रधानमन्त्रीका विश्वास पात्र शंकर पोख्रेलको बधाई सन्देशमा समेत नवनियुक्त मुख्य सचिव शंकरदास वैरागी मात्रै अटे । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका र बेलायतको राजदूतका लागि सिफारिस भएका युवराज र लोकदर्शनलाई पाख्रेलले बधाई दिइराख्न उपयुक्त ठानेनन् कि ? नत्र तिनवटैलाई एकै शब्द ‘बधाई’ भित्र गज्जवले अटाउन मिलिहाल्थ्यो नि ।
यसरी पार्टिपङ्तिका विधिसङ्गत विचार र बुझाइलाई सत्ताको हतौडाले उछिट्याइदिएर आफ्नो खल्तिका ‘टेष्टेड’ मान्छेहरूलाई नियुक्ति दिइराख्ने हो भने नेतृत्वको मनमा समाजवाद नै आएपनि व्यवहारमा लोकतन्त्र आउन भने दशकौं नलाग्ला भन्न सकिन्न ।