काठमाडौंमा ९४३ सहित देशभर १९११ जनामा कोरोना पुष्टि, ११ को मृत्यु
१५ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १९ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
आज मात्रै काठमाडौंमा ८१७ ललितपुरमा ६८ र भक्तपुरमा ५८ गरी उपत्यकामा ९४३ जना भाइरस सङ्क्रमित थपिएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ७९ हजार ७ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ९ सय ६१ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार ८ सय ३० छ ।
पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परिक्षण भएको छ ।