१२ जेष्ठ २०८०, शुक्रबार

सुर्खेतकाे विमानस्थललाई स्तराेन्नति गरिने



१५ असोज, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित विमानस्थलको विकास, बिस्तार र स्तरोन्नतिको काम अगाडि बढ्ने भएकाे छ । संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा अघि बढाउनका लागि आजै नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएकाे हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको उपस्थितिमा हस्ताक्षर भएकाे हाे ।

कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले पूर्वाधार निर्माणका लागि यो समझदारी ऐतिहासिक भएको बताए । ‘कर्णाली प्रदेश सरकारले संघिय सरकारलाई पूर्वाधार निर्माणका लागि जोड्न चाहेकोले गत वर्षदेखि नै बजेट विनियोजन गरिरहेका थियौं । जुन आजको समझदारीबाट विश्वस्त हुने वातावरण बनेको छ’ मुख्यमन्त्री शाहीले भने ।

उक्त अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताए । संघीयता कार्यान्वयनको सन्दर्भमा यो समझदारी कोशेढुंगा सावित हुने उनले बताए । मन्त्री भट्टराईले विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र परे तापनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने विश्वास व्यक्त गरे ।

आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाका अनुसार सुर्खेत बिमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक बर्षको लागि ५० करोड बजेट बिनियोजन गरिएको छ । यसमा दुवै सरकारले ५०–५० प्रतिशत लगानी रहने छ ।

३ अर्ब लागत अनुमान गरिएको प्रादेशिक हव विमानस्थलका रूपमा विकास गरिने यस विमानस्थलको धावनमार्ग विस्तार, टर्मिनल निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिने छ । जग्गा अधिग्रहण तत्काल गरेर टेन्डर गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको