पाँच हजार मिटर उचाइमा ५० लाखको प्राकृतिक भ्यूटावर
समर हुम्ली
१५ असोज, हुम्ला । हुम्लाको मारघोर हिमालस्थित पाँच हजार मिटर उचाइको रहेको भिमदुलामा एक सय ८ वटा सिंढीसहितको भ्यूटावर निर्माण गरिएको छ । डिभिजन वन कार्यालय हुम्लाले ५० लाख रूपैयाँको लागतमा भ्यूटावर निर्माण गरेको हो ।
महाभारतकालीन पाँच पाण्डवमध्ये महिला सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । उनीहरु बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासको अवस्थामा रहँदा उनीहरू बसेको ठाउँमा जब राक्षसी प्रवृत्तिहरूको अत्याचार बढ्दै गयो, तब उनीहरूको बध गर्नका लागि विभिन्न तामसिक कामहरू गर्नु परेकाले यो गुफा पनि त्यही समय बनेको सिमकोट गाउँका अदानसिंह रावत बताउँछन् । उनले सिंजाको पाण्डव गुफाबाट ढुङ्गा हानेर होल्मोलुङरिङको राक्षसलाई मार्न खोज्दा चंखेली, मारघोर हिमाल प्वाल पारेर सिमकोट खसेको जनविश्वास रहेको बताए । हाल यो भिमदुला खार्पुनाथ गाउँपालिका र खर्केगाड गाउँपालिकाको बीचमा रहेको छ ।

यो हिमाल परापूर्वकालमा ऋषि महर्षिहरूको तपोभूमि भए पनि नयाँ बस्ती गर्ने जातीय समुदायका कारण यहाँको इतिहास र जानकारी लोप भएको सर्केगाड गाउँपालिका राहदेउ गाउँका स्थानीय डा. दीपेन्द्र रोकायाले जाकारी दिए ।
यसको काखैमा रहेको दुधेदह र विभिन्न जडिबुटीहरूको खानी भएकाले एक पटक पुग्ने पर्ने ऐतिहासिक र धार्मिक स्थल भएको खार्पुनाथ गापा दुर्पा गाउँका स्थानीय धनबहादुर ऐडीले बताए । सिमकोट ५ का राजबहादुर रोकायाका अनुसार लामो समयको लकडाउनका कारण पनि स्थानीय, कर्मचारी, शिक्षक र अन्य व्यक्तिहरू यहाँ पटक–पटक जाने गरेका छन् ।