४ कार्तिक २०७७, मंगलवार

कृषिलाई व्यावसायिक बनाउन हुम्लामा माटो परिक्षण सुरू



समर हुम्ली

१४ असोज, हुम्ला । हुम्लाका स्थानीय तहहरूमा पछिल्लो समय माटो परिक्षण कार्य धमाधम सुरू भएको छ । सिमकोट र अदानचुली गाउँपालिकाले सीमित साधन, स्रोत र जनशक्तिबाट पनि मोटोको परिक्षण सुरू गरेका हुन् ।

माटो परिक्षण जस्तो संवेदनशील काम स्थानीयस्तरमै हुन्दा नयाँ–नयाँ र आयमुलक खेती गर्न चाहनेका लागि प्रोत्साहन मिल्ने भएको छ ।

अदानचुली गाउँपालिकाले अभियानकै रूपमा विभिन्न स्थानमा माटो परिक्षण सुरू गरेको छ । गाउँपालिका भित्रका खेती योग्य पाखो, खेत, गह्रा, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश, सुर्खेत पठाइएको छ ।

यसबाट कृषकहरूले कुन स्थानमा के कस्तो प्रकारका स्थानीय अन्न, रैथाने बाली, विकासे फलफुल, उन्नत जातका तरकारी र नगदे बालीका लागि कस्तो प्रकारको माटो चाहिने हो भन्ने जानकारी पाउन सजिलो हुने कर्णाली प्रदेश एकीकृत कृषि प्रयोगशालाका माटो परिक्षण प्राविधिक प्रयोग शाहीले जनकारी दिए । शाहीले भने, ‘जमिन अुसार कुन प्रकारको मल र खेती गरि आम्दानी लिन सकिन्छ भन्नेबारे स्थानीय कृषकले व्यवहारीक ज्ञान पाउनेछन् ।’ माटो र पानी हामी मानवकालागि जननी भएकाले यसको स्याहार, सम्भार र संरक्षण गर्नु अति आवश्यक शाहीले बताए । ‘अदानचुली गाउँपालिकाले गरेको यो अनुकरणीय कामको सिका अरु गाउँपालिकाले पनि गर्नुपछ ।’ शाहीले भने ।

यसरी परिक्षण गरिएका ९० वटा नमुनाको अम्लीय, क्षारीय र अन्यको परिक्षण गरिएको छ । जसमा ४२ नमुनामा अम्लीयपन देखिएको छ । १२ वटाका लागि कृषि चुनको प्रयोग गर्न सिफारिश गरिएको छ भने ४८ नमुनाको नतिजा तटस्थ देखिएको छ ।

त्यसैगरि उक्त ९० नमुनामा नाईट्रोजनको अवस्था १ मा कम, ६९ मा मध्यम र २० मा अधिक देखिएको छ भने फस्फोरसको मात्रा ९० वटैमा उच्च देखिएको छ । उक्त नमुनाहरूमा पोटासको मात्रा १२ वटामा कम, ३८ मा मध्यम र ५० मा उच्च देखिएको छ ।

यस्तै सिमकोट गाउँपालिकाले पनि ९० हजार लागतमा गाउँपालिकाभरीका १४९ जना किसानहरूको जमिनको माटो परिक्षण गरेको छ । यो परिक्षणबाट हुम्ला जिल्लामा खेतीयोग्य जमीनमा फोस्फरस, पोटासको मात्रा ठीकै भए पनि नाइट्रोजनको स्तरिकणका लागि उपयुक्त किसिमको कृषि प्रविधि अपनाउनु पर्ने सिमकोट कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले जानकारी दिएका छन् ।
उनले भने ‘किसानहरूलाई अझै सचेत बनाउन माटोसम्बन्धी बजेट र कार्यक्रम नियमित राख्नु पर्ने देखिएको छ ।’ अबको दिनमा कषिलाई जीविकोपार्जन पाटो मात्र होइन व्यावसायिक आम्दानीको बाटो बनाउनु पर्ने शाहीको सुझाव छ ।

यसरी स्थानियतहमा माटो परिक्षण गरि नयाँ कामको शुरूवात गरेर कृषकलाई आयमुलक खेती र उच्चमुल्यका कृषि उपजमा लगानी गर्न प्रेरित गर्न सानो प्रयास भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

यो अभियानले कृषि र कृषकलाई आफ्नो जग्गामा आवश्यक पर्ने अम्लीयपन, क्षारीयपन र यसलाई सुधार्न र सन्तुलन कायम राख्न आवश्यक हुने नाईट्रोजन, पोटास र फस्फोरसको आवश्यकता परिपूर्ति गर्न चाहिने रसायनहरूको व्यवस्था गर्न सजिलो भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु