हुम्लामा पहिलो पटक एपेन्डिसाईटीस बिरामीको सफल शल्यक्रिया
समर हुम्ली
१४ असोज, हुम्ला । हुम्लामा जिल्लामा पहिलो पटक एपेन्डिसाईटीस भएका बिरामीको शल्यक्रियाबाट उपचार गरिएको छ । जिल्ला अस्पताल हुम्लामा सेवा सुविधा र जनशक्ति बढेसँगै एपेन्डिसाईटीसको सफल उपचार सम्भव भएको हो ।
सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहे गाउँकी १८ वर्षीया सरिता भण्डारीलाई परिक्षण गर्दा एपेन्डिसाईटिस देखिएपछि जिल्ला अस्पतालमै तत्काल शल्यक्रिया गरिएको थियो ।
पछिल्लो समय जिल्ला अस्पतालमा विभिन्न प्रकारका चिकित्सकीय उपकरण र जनशक्ति उपलब्ध हुँदा वितारै दुर्गमस्थलका स्वास्थ्य केन्द्रमा पनि आममानिसहरूको आकर्षणको बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले बताए ।
जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित बिष्टले यो बिरामका लागि समयमै उपचार नभए व्यक्तिको ज्यानै जान सक्ने बताए । उनले भने, ‘किशोरीलाई समयमै अस्पताल पुर्याइएका कारण बिराम पहिचान गरी उपचार गर्न सम्भन भएको हो ।’ सफल शल्यक्रियाले चिकित्सकको समुह र बिरामी दुबैलाई खुशी तुल्याएको डा. बिष्टले बताए ।
जिल्ला अस्पतालमा एपेन्डिसाईटीस बाहेकका विभिन्न संवेदनशील रोग लागेका विरामीहरूको पनि शल्यक्रिया हुन थालेको छ । स्वास्थ्य केन्द्रहरुले खाली सेता टाटा अर्थात् औषधी मात्र दिन्छन् भन्ने हुम्लीहरुको मानसिकता अब परिवर्तन हुने विश्वास गर्न सकिन्छ ।