ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
१४ असोज, भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ स्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवम् पाटी संरक्षण गर्दा उल्टै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ ।
ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन् गरी पुनःनिर्माण गर्ने मध्यपुरथिमि नगरपालिकाविरुद्ध नै अभियानकर्मीका नाममा सर्वोच्च अदालतमा मुद्दा हालेपछि मुद्दा खेप्नुपरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको बताए । फल्चा लिने गः हिटी अर्थात् पाटीपछिको धाराको नामले चिनिने यहाँको १०० वर्षभन्दा पुरानो परम्परागत ऐतिहासिक ढुङ्गेधारा पाटी पेप्सीकोला–सानोठिमी सडक २० मिटर विस्तारको क्रममा सडकको मापदण्डमा परेको भन्दैै ठेकेदारले मङ्सिर १४ गते भत्काएको थियो ।
सम्पदा भत्काउँदा नगरपालिकालाई जानकारी समेत नदिई त्यसको पुराना इँटा र सामग्रीसमेत संरक्षण नगरी ठेकेदारले डोजर लगाएर जथाभावी रूपमा पाटी भत्काउनुका साथै ढुङ्गेधारा पुरेको थियो । डेढ वर्ष अगाडि भत्काएको पाटी र धाराको विषयमा पुनःनिर्माण पछि भएको विवादका बारेमा जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले भने, ‘पाटी पछाडि धारा थियो, सडक विस्तारका क्रममा ठेकेदारले डोजर लाएर पाटी भत्कायो, धारा पुरियो, ३ दिनपछि मैले त्यो थाहा पाउनेबित्तिकै आफै बसेर पुरिएको धारा उत्खनन गराएँ, त्यसपछि स्थानीय उपभोक्ता समिति गठन गरेर परम्परागत शैलीमा धाराको पुनःनिर्माण सकियो, धारा पछाडि परम्परागत शैलीमा पार्टी पनि पुनःनिर्माण गरियो तर छाना हाल्ने बेलामा सुनुयोजित रूपमा अभियानकर्मीको नाममा विवाद ल्याए ।’
अभियानकर्मी अनिश वैद्यको टोलीले सम्पदा मासिएको भन्दै नगरपालिकाले धारा र पाटी बनाएकोमा विरोध गर्दै आएको छ । ‘ऐतिहासिक सम्पदाको मौलिकता बिगार्न हँुदैन भन्ने हाम्रो मान्यता हो, पुनःनिर्माणको क्रममा सम्पदा सारियो, स्वरूप उल्टो भयो’, वैद्यले भने, ‘धारा अगाडि फल्चा हुनुपर्छ मौलिकता मेटिनु हुँदैन पुरानै अवस्थामा सारिनुपर्छ भन्ने हाम्रो माग हो ।’
नगरपालिकाको कामविरुद्ध गत भदौ २ गते सर्वाेच्च अदालतमा मुद्दा हालेको बताउँदै वैद्यले सम्पदालई पुरानै अवस्थामा सार्न पहल गर्दा नगरप्रमुख श्रेष्ठले अटेर गरेको वैद्यले बताए । नगरपालिकाका प्रमुख श्रेष्ठले भने पानी आइरहेको ऐतिहासिक ढुङ्गेधारालाई पर सार्दा पानी आउन रोकिन सक्ने भएकाले त्यही ठाउँमा कलात्मक ढुङ्गेधारा बनाएर त्यसको पछाडि पाटी बनाएको स्पष्ट पारे ।
ठेकेदारसँग केही व्यक्तिले पाटीलाई अन्यत्रै सारेर प्रतीक्षालय बनाउने सहमति गरेको पाइएपछि त्यही ठाउँमा पाटी बनाउनुपर्छ भनेर आफै लागेको बताउँदै मेयर श्रेष्ठले भने, ‘पाटीलाई धारा अगाडि बनाउँदा सडकमा पुग्छ, कालोपत्रे सडकमा पाटी बनाउने कुरा हुँदैन, यो कुरालाई पनि पक्कै अदालतले मनन गर्ला ।’
ठेकेदारले डोजर लगाएर १०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्पदामा पुर्दा नदेख्ने पुरातत्व विभागले सम्पदा संरक्षण गर्दै पुरानै शैलीमा ढुङ्गेधारा र पाटी पुनःनिर्माण गर्दा भने रोक लगाउन खोजेको उनको भनाई छ । नगरप्रमुख श्रेष्ठले भने, ‘ऐतिहासिक सम्पदा पुर्दा पुरातत्व कहाँ थियो र अहिले रोक्न खोज्छ, आओस् पुरानै ठाउँमा पुरातत्वले बनाओस्, कालोपत्रे सडकमा पुरातत्वले पाटी बनाउन सक्छ ? हामी रोक्दैनौँ, तर आफू पनि संरक्षण नगर्ने, स्थानीय सरकारले गर्दा पनि रोक्न खोज्ने, पुरातत्वको यो शैली शङ्कास्पद छ ।’
एक वर्ष अगाडिदेखि नै धारा बनेको र डेढ महिना अघिदेखि पाटी बनाउँदा केही नबोल्नेहरु अहिले अभियानकर्मीका नाममा ‘प्रपोगाण्डा’ गर्दै छानो छाउने बेलामा रोक्न आएको मेयरले बताए । नगरपालिका क्षेत्रमा १२ वटा ढुङ्गेधारा पुनःनिर्माण र जीर्णोद्धार गरिएको भन्दै उनले सम्पदा संरक्षणमा अवरोध सिर्जन ागर्न नहुने धारणा राखे । सम्पदा जोगाउन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएपछि चार दिनअघि संघीय सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा वाग्मती प्रदेश सदस्यहरू शशीजङ्ग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटीलगायतको टोलीले उक्त निर्माणकार्यको अनुगमन गरेको थियो ।
अनुगमपछि प्रदेश सदस्य थापाले सम्पदा जोगाउने काममा नगरपालिकाले खेलेको भूमिका राम्रो रहे पनि यसको विरोध हुनु दुःखद् रहेको बताए । उनले भने, ‘सडक विस्तारका क्रममा अस्तित्व नै नरहने गरी धारा र पाटीलाई मास्ने काम गरिएकामा सम्पदा जोगाउन नगरपालिकाले जुन कदम चाल्यो, त्यो ठिक छ, विरोधको नाममा विरोधको औचित्य छैन ।’
नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष राम थापामगरले सम्पदा जीर्णोद्धारमा कमीकमजोरीलाई सच्याउँदै उक्त धारो र पाटीको मौलिकता जोगाउन सबै लाग्नुपर्ने बताए । उपभोक्ता समितिका अध्यक्ष धरूव थापामगरले पाटी र धाराको उपभोग गर्ने स्थानीयले विरोध नगरेको बताउँदै भने, ‘परम्परागत र मौलिक शैलीमा धारा यथास्थानमा र धारा पछाडि पाटी निर्माण गरिएको बताउँदै अहिले सकिने बेलामा विरोध हुँदा अचम्म लागेको छ ।’
स्थानीय बासिन्दा राम श्रेष्ठले आफूले बच्चादेखि नै यही धाराको पानी पिउँदै आए पनि बाटो विस्तारको क्रममा पुरिएको धारो नगरपालिकाले फेरि त्यही ठाउँमा बनाएर मुहान सफा गरेर पानी आउने बनाउँदा स्थानीयवासी खुशी भएको बताए ।
(रासस)