४ आश्विन २०७८, सोमबार

खुला प्रतिस्पर्धाबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्त



१४ असोज, सर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो ।

१९ जनाको आवेदन परेकोमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरूको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सहप्राध्यापक डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नियुक्ति स्वीकृत भएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो’, उनले भने, ‘जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।’

उपकुलपति सिंहले राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने यसअघि प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे । यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको