मंगलबार थप १५१३ मा कोरोना पुष्टि, १० को मृत्यु
१३ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार आज थपिएका सङ्क्रमितमध्ये ९५७ पुरूष तथा महिला ५५६ जना रहेका छन् ।
आज मात्रै काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ गरी उपत्यकामा ९३४ जना भाइरस सङ्क्रमित थपिएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ७६ हजार २५८ पुगेको मन्त्रालयले जनाएको छ । आज देशभर थपिएका सङ्क्रमितमध्ये आधा भन्दा बढी संख्या काठमाडौं उपत्यकाको हो ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ७ सय १३ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ५५हजार ३ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या २० हजार ३ सय ९६ छ ।
पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ९१ जनाको पिसिआर परिक्षण भएको छ ।