भरूवा बन्दुक देखाएर तर्साउने दुई युवक पक्राउ
१३ असोज, कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लामा भरूवा बन्दुक देखाएर आतङ्क फैलाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा दुई युवकलाई पक्राउ गरिएको बताए । थापाका अनुसार स्थानीय २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई पक्राउ गरिएको छ ।
लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत अभियुक्तबाट बरामद गरिएको थापाले बताए । ‘अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ’, प्रहरी उपरीक्षक थापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी आजै मुद्दा दायर गरेर कारबाही अघि बढाइने उनले जानकारी दिए ।
(रासस)