१५ फाल्गुन २०७७, शनिबार

यातायात खुलेसँगै कर्णाली प्रदेशमा बढ्यो कोरोना सङ्क्रमण



यमुना राना

१२ असोज, काठमाडौं । कोरोना सङ्क्रमण कम हुँदा केही राहत महसुस गरेका कर्णालीवासी फेरी सङ्क्रमणको जोखिममा परेका छन् । भारतमा रोजगारीमा रहेका नागरिकहरूलाई प्रवेश अनुमती दिएपछि कोरोना सङ्क्रमण बढेको छ । लामो दुरीका यातायात बन्द गरेसँगै मान्छेको आगमन कम हुँदा घटेको सङ्क्रमण सरकारले लकडाउन खोली लामो दुरीका सवारी सञ्चालन गरेपछि फेरी संक्रमण बढ्न थालेको छ ।

हिँजो एकैदिन ४८ जनामा सङ्क्रमण देखिएको भन्दै दैनिक औषतमा ५० जनामा सङ्क्रमण देखिने गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अधिकृत नवराज कँडेलले जानकारी दिए । कँडेलका अनुसार यो क्रम महिलाहरूको पर्व तिजपछि पनि केही मात्रामा बढेको हो ।

भारतमा रोजगारी गरेर फर्किएकाहरु गाँगामा पुगेपछि सङ्क्रमणले महामारीको रुप लिने भन्दै सबैलाई त्रसित बनाएको थियो । तर ठ्लो संख्यामा भारतबाट भित्रने संख्या घटेसंगै संक्रमण पनि घटेको देखिएपछि मासिहरुले राहत महशुष गरेका थिए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पनि हाल प्रदेश राजधानी सुर्खेत र सल्यान लगायतका जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमै देखिएको बताए । मन्त्री रावलले भने, ‘पहिलेको तुलनामा प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, उपचार र व्यवस्थापनमा निकै प्रभावकारी ढङ्गले काम गरिरहेको छ ।’

भाइरस समुदायस्तरमै फैलिदा चिन्तित भएपनि परिक्षण, ट्रेसिङ र उपचारलाई महत्व दिएर काम गरेका कारण केही राहत भएको बताए । उनका अनुसार हाल कर्णालीमा ५ वटा पिसिआर मेसिन रहेकोमा ४ वटा सञ्चालनमा छन् । ‘दुई वटा द्रुत गतिको अटो मेसिन पनि खरिद गरेर जडानको प्रक्रियामा रहेकोले अब दैनिक ३ हजार पसिआर परिक्षण गर्न सक्ने क्षमता हामीसँग हुन्छ ।’ मन्त्री रावलले भने ।

स्वास्थ्य सवा महाशाखा अधिकृत नवराज कँडेलले भने कर्णालीको समुदायमा सङ्क्रमण फैलिए नियन्त्रयमा कठीनाई हुने भन्दै रोकथाम नै महत्वपुर्ण काम रहेको बताए । उनले भने, ‘त्यसका लागि स्थायी रूपमै संरचनाहरू निर्माण गरी नयाँ तरिकाले अगाडी बढ्नुको विकल्प छैन ।’

मन्त्री रावलले विद्यालय सञ्चालन गरी पठनपाठन सुचारू गर्ने विषयमा छलफल भैरहेको र अव यसबारे छिट्टै निर्णय गरिने बताए । प्रदेशका केही विकट ठाँउहरूमा इन्टरनेट, टिभी र रेडियोको समेत सहज पहुँच छैन । त्यसैले भाइरस सङ्क्रमणको अवस्था हेरेर त्यस्ता ठाँउमा विद्यालय नै सुचारू गर्ने गरी छलफल भइरहेको मन्त्री रावलले जानकारी दिए ।

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुलेसंगै मानिसहरूको अन्तरजिल्ला चहलपहल पनि बढेको छ । यसरी अन्यत्रबाट भित्रने सवारी साधनहरूबाट सङ्क्रमण फैलन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र गराउने कालाई प्रभावकारी बनाइएको पनि मन्त्री रावलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशमा ३४२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये २८४० सङ्क्रमित निको भएका छन् । ५८२ सक्रिय सङ्क्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको छ । कर्णालीका हुम्ला, जुम्ला ,मुगु र कालिकोट गरी ४ जिल्लाहरू भने सङ्क्रमण मुक्त छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु