हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल, खुल्नेभयो आम्दानीको नौलो बाटो
कर्णबहादुर रोकाया
११ असोज, हुम्ला । कर्णाली प्रदेशको दुर्गम पहाडी जिल्ला हुम्लामा पहिलो पटक बोदीचित्त बिरूवाको फल फलेको छ । यसबाट हुम्लाको जैविक विविधता र स्थानीय अर्थतन्त्रमा नौलो आयाम थपिने सम्भावना देखिएको छ ।
चार वर्षअघि काठमाडौंमा स्नातकोत्तर अध्ययनको क्रममा यो बिरूवाको बारेमा जानकारी पाएको गोठीगाउँका युवा उद्यमी इराजन शाहीले बताए । उद्यमी शाहीले भने, ‘मेरो बुवा काठमाडौं भेट गर्न जाँदा प्रसङ्गबस् बोदीचित्त बिरूवाको बारेमा कुरा उठेको थियो । त्यही प्रसङ्गकै कारण अनामनगरस्थित कालीन्चोकको एक नर्सरीले काभ्रेपालान्चोकबाट १० वटा बिरूवा झिकाएर हुम्ला पठाइको थियो ।’ तिनै १० बिरूवाबाटै आफुले बोदिचित्त नर्सरी सुरू गरको शाहीले बताए ।

नेपालमा बोदीचित्त भनेर चिनिने यस बिरूवाकोे वैज्ञानिक नाम ‘जीजीफस् बुढेनीसस्’ हो । रमाइलो पक्ष केछ भने यसको ठुलो फलको धेरै मुल्य होइन जति सानो फल उति धेरै मुल्य पाइन्छ । पूजा गर्दा सकभर पुरै माला हातको मुठीमा सजीलै अट्नुपर्छ । हाल काभ्रेको तीमाल क्षेत्रबाट लाखौंको बोदीचित्त मालाको ब्यापार हुने गरेको छ ।
प्रत्येक वर्षको कौतुहलता र के हुन्छ, के हुँदैन भन्ने दोधारकाबीच हुम्लामा बोदिचित्त बिरूवाबाट रुख भयो । गत वर्ष २०७६मा यसको कलिलो रूखमा लटरम्म फुल फुले पनि जम्मा १०÷१२ दाना मात्रै फलेको थियो । ‘यो वर्ष त्योभन्दा पनि धेरै फल फलेका छन् ।’ उद्यमी शाहीले भने, ‘अब हुम्लामा पनि यो बिरूवाको खेती गर्दा व्यावसायीक सफलता प्राप्त हुने देखिएपछि थप बिरुवा लगाउने तयारीमा जटिसकेको छु ।’
दुःख गर्न सके हुम्ला जिल्लामा रहेका प्राकृतिक विविधताका प्रचुर सम्भावनहरूको व्यावासयीक उपयोग गर्न सकिन्छ । स्थानीयस्तरमै नेपालका अन्य ठाउँमा फल्ने विभिन्न प्रकारका बोट बिरूवाहरूको पनि व्यावसायिक खेती गर्न सकिन्छ भन्ने विभिन्न अध्ययन र व्यावहारिक प्रयोगले सिद्ध गरिसकेको छ ।
बोदिचित्तको रूख दस मिटरसम्म अग्गो हुन्छ । यसको दानाबाट बनाइने मालालाई बुद्धचित्त माला भनिन्छ । हाल विश्वभरी यसको माग बढ्दै गएकाले नेपालका विभिन्न स्थानहरूमा यसको व्यावसायिक खेती बढ्दै जान थालेको छ ।
हुम्ला जिल्लामै पहिलो पटक बोदिचित्तको व्यावहारिक परिक्षण गरेर रामराज शाही र इराजन शाहीले एग्रोफरेष्टीमा एक नौलो आयाम थपिदिएका छन् । यो प्रयासलाई सरोकारवाला निकायहरूले सकरात्मक सन्देशका रुपमा लिन सक्नुपर्छ । यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सकियो भने कम श्रम, थोरै लगानी र खेर गएको पाखो जग्गाको उपयोगले नौलो आम्दानीको अवसर खुल्न सक्छ ।