१३ फाल्गुन २०७७, बिहीबार

प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा



११ असोज, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । मकालु प्रकाशन गृहले प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्ने भएको हो ।

प्रज्ञा प्रतिष्ठानले २०७७ साल साउन २२ गते प्रथम र २०७७ भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकोमा निर्धारित सर्तहरूमा मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता समेत भएको छ । सम्झौतापत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकाहरूलाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्याउनेमा आफु विश्वस्त रहेको धारणा राखे ।

त्यस्तै मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरू सम्झौताबमोजिम नै देशका सबै भागमा र विदेशमा समेत पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सम्झौता हस्ताक्षरका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. हेमनाथ पौडेल र डा. देवी नेपाल तथा प्रशासन प्रमुख सुमन अधिकारी एवम् मकालु प्रकाशन गृहका व्यवस्थापक राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु