तिन क्याप्टेनको दादागिरी, निर्घात कुटिए सैनिक जवान
११ असोज, काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका तिन जना क्याप्टेन मिलेर एक सैनिक जवानलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । क्याप्टेनहरू इन्द्र थापा, सवास हुमागाईं र योगेन्द्र धिताल मिलेर सैनिक जवान नवराज माझिलाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।
सैनिक जवान कुटपिटमा संलग्न क्याप्टेनहरूलाई कारबाहीको दायरामा ल्याउन सैनिक मुख्यालयले छानविन थालेको छ । कंगोमा तैनाथ गणको जवान लाइनमा कुटपिट भएको घटनाका विषयमा छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिसकेको सहायक रथी, सैन्य प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले भने, ‘कंगोस्थित गणमा कार्यरत ज्येष्ठ सेनानीको नेतृत्वमा तत्काल छानविन प्रकृया सुरू भइसकेको छ ।’ घटनाको प्रकृति र कारण एकिन हुने बित्तिकै कारबाही प्रकृया अगाडि बढ्छ ।
सैनिक जवानलाई तिन–तिन जना क्याप्टेनहरू मिलेर अमानवीय तवरले कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ । शान्ति स्थापनार्थ खटिएका सेनाका उच्च अधिकारीहरूबाट भएको यस्तो अमानवीय घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भयो भन्ने विचारहरू आइरहेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले युएन मिशनमा रहेका नेपाली सेनाका सम्पूर्ण सदस्यहरूमा उच्च अनुशासन कायम राख्न प्रतिवद्ध रहेको जनाएको छ । छानिविन टोलीले निकालेको अन्तिम निष्कर्ष र सुझावलाई कानुनी ढङ्गले अक्षरस लागु गरिने समेत निर्देशनाले उल्लेख गरेको छ ।