४ कार्तिक २०७७, मंगलवार

बादलको क्षितिजमा चाँदीको घेरा भएझैं थलिएको पर्यटन क्षेत्र फेरी उठ्नेछ : मन्त्री भट्टराई



११ असोज, काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्वका रूपमा ४१ औं विश्व पर्यटन दिवस-२०२० का अवससरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुभकामना दिएका छन् । मन्त्री भट्टराइले विश्वभरिका पर्यटक, पर्यटन व्यवसायी, सरोकारवाला तथा आम जनसमुदायमा विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिएका हुन् ।

शुभकामना सन्देशमा मन्त्री भट्टराईले भनेका छन्, मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन हो । संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल हाम्रो देश नेपाललार्ई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा अवस्थित सर्वोच्च शिखर सगरमाथासहितका हिमश्रृङखला, छोटो भौगोलिक दूरीभित्र रहेका विविधतापूर्ण भूगोल, कला र संस्कृतिको विशिष्टता र विविधताका साथै विश्वशान्तिको उद्गमस्थल अर्थात् गौतम बुद्धको जन्मस्थान लुम्बिनीजस्ता अनुपम सम्पदाहरूका कारण नेपाल विश्वमाझ पर्यटनको आकर्षक गन्तव्य रहेको छ ।’ सरकारले यस पर्यटनलाई प्राथमिकताका साथ आर्थिक–सामाजिक विकासमा योगदान पुर्याउने क्षेत्रका रूपमा लिएको छ मन्त्री भट्टराइले उल्लेख गरेका छन् ।

सन् २०२० को सुरुवातसँगै विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीबाट नेपालसमेत गम्भीर रूपमा प्रभावित भएको छ । व्यक्तिगत एवं सामूहिक गतिशीलतामा पर्यटन निर्भर हुने भएको र देशमा २०७६ चैत ११ गतेदेखि समय समयको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले गर्दा यस क्षेत्रका व्यवसाय तथा सेवाहरूमा उच्च क्षति पुगेको छ । तथापि, हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउनेछ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्नेछ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरू हासिल हुनेछन भन्ने विश्वास मन्त्री भट्टराईले सन्देशमार्फत् दिलाएका छन् ।

यस परिवेशमा आएको विश्व पर्यटन दिवसका अवसरमा हामीले भौतिक रूपमा उपस्थिति भई विगतमा झैं कार्यक्रम तथा जागरण अभियानहरू सञ्चालन गर्न उपयुक्त नभए पनि निकट भविष्यमा यस क्षेत्रको वृद्धि र विकासलाई लक्षित गरी सरकारी, निजी व्यवसाय तथा नागरिकस्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास र तयारीजस्ता पुनरूत्थानका कार्यहरू गर्न मन्त्री भट्टराईले अपिल समेत गरेका छन् ।

सरकारले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव तथा विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवद्र्धन र विकाससम्बन्धी योजना र कार्यक्रमहरूलाई उच्च महत्वका साथ कार्यान्वयन गरिने प्रतिवद्धता मन्त्री भट्टराईले जाहेर गरेका छन् ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु